
नवलपरासी,७ कातिक
लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ जैसवालको क्षेत्र विकास योजना अन्तर्गत चालु आर्थिक वर्ष २०८३÷०८४ मा एउटै वार्डमा ५२ लाखका ६ आयोजना सञ्चालन हुने भएका छन् । विनियोजित योजनाहरूको लागत स्टिमेट तयार गर्ने उद्देश्यले जिल्लाको पाल्हीनन्दन गाउँपालिका–२ मा स्थलगत अनुगमन तथा निरीक्षण गरिएको गरिएको हो ।
सहरी विकास कार्यालयका प्राविधिकहरूसहित सम्बन्धित योजनास्थलमा पुगेर निर्माण तथा पूर्वाधार विकासका लागि आवश्यक अवस्थाबारे जानकारी लिइएको स्थानिय जितेन्द्र गुप्ताले जानकारी गराए । उनका अनुसार वार्डका अतिआवश्यक पुर्वाधार आयोजनाका लागि बजेट विनियोजन गरिदिनका लागि प्रदेश साँसद जैसवालसँग पटक पटक कुरा उठाउदै आएका थिए । प्रदेश सासद जैसवालले जनताको चाहना र भावना अनुसार बजेट ब्यवस्थापन गरिदिएका छन्, उनले भने, प्राविधिक अनुगमनका क्रममा योजना स्थलको वस्तुस्थिति, आवश्यक पूर्वाधार र निर्माण कार्यका प्राविधिक पक्षबारे स्थलगत निरीक्षण गरिएको जनाइएको छ । प्रदेश सभा सदस्य जैसवालको क्षेत्र विकास योजनाअन्तर्गत पाल्हीनन्दन गाउँपालिका–२ का विभिन्न ६ वटा योजनाका लागि कुल ५२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
विनियोजित योजनाअन्तर्गत हरपुर बस्ती विकासका लागि १० लाख रुपैयाँ, मदरसा हरपुर पूर्वाधार निर्माणका लागि ७ लाख रुपैयाँ तथा मुडेरामा अधुरो बस्ती विकासका लागि १० लाख र ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी, सशस्त्र प्रहरी अमानिगञ्ज जाने बाटो निर्माणका लागि १० लाख रुपैयाँ र अमानिगञ्ज सहरी विकास पूर्वाधार निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ । स्थलगत अनुगमनबाट योजनाहरूको आवश्यक लागत स्टिमेट तयार गर्न तथा निर्माण कार्यलाई व्यवस्थित रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्राविधिक मूल्याङ्कन र लागत स्टिमेट तयार भएपछि योजनाहरूको कार्यान्वयन प्रक्रिया अघि बढ्ने जनाइएको छ । स्थानीय आवश्यकता सम्बोधन गर्दै बस्ती विकास, सडक पहुँच र आधारभूत पूर्वाधारको विस्तारमार्फत क्षेत्रको विकासमा योगदान पु¥याउने उद्देश्यले योजनाहरू अघि बढाइएको हो । जनताको आवश्यकता, पूर्वाधार विकास र समृद्ध क्षेत्र निर्माणका लागि निरन्तर पहल भइरहेको प्रदेश सभा सदस्य जैसवालको क्षेत्र विकास योजनासँग सम्बन्धित पक्षले जनाएको छ ।

