
नवलपरासी, १ असोज
जिल्लाका सामुदायिक विद्यालयहरुमा बढदो बेरुजु कम गराउने उदेश्यले विद्यालयका प्रधानाध्यापक तथा लेखाका कर्मचारीहरुलाई सार्वजनिक खरिद तथा लेखा सम्बन्धि तालिम सञ्चालन गरिएको छ । प्रधानाध्यापक तथा लेखा कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सार्वजनिक खरिद तथा लेखा व्यवस्थापनसम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई नवलपरासीले जिल्लाका सामुदायिक विद्यालयका प्रअ र लेखा कर्मचारीलाई उतm तालिम दिलाइएको कार्यालय प्रमुख महेन्द्र सुवेदीले जानकारी गराए । उनका अनुसार तालिममा सार्वजनिक खरिद प्रक्रिया, लेखा व्यवस्थापन, आर्थिक अनुशासन तथा कार्यालयको कामकारबाहीलाई व्यवस्थित बनाउने विषयमा सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो ।े सार्वजनिक निकायबाट हुने खरिद प्रक्रियालाई प्रचलित कानुन, नियम तथा कार्यविधि अनुसार पारदर्शी र व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने सहभागिलाई सिप र ज्ञान प्रदान गरिएको उनको भनाई थियो ।
तालिमका क्रममा सार्वजनिक खरिदको आवश्यकता पहिचानदेखि खरिद योजना निर्माण, लागत अनुमान, बोलपत्र तथा दरभाउपत्रसम्बन्धी प्रक्रिया, सम्झौता व्यवस्थापन, सामान तथा सेवाको आपूर्ति र भुक्तानीसम्मका विषयमा छलफल गरिएको थियो,प्रमुख सुवेदीले भने, सहभागीहरूलाई सार्वजनिक खरिदसम्बन्धी व्यवहारिक समस्याहरू तथा तिनको समाधानका उपायबारे समेत जानकारी दिइएको थियो । यो तालिमले विद्यालयमा बढने गरेको अनियमितता र वेरुजु कम गराउने दाबी प्रमुख सुवेदीको थियो ।
त्यसैगरी, लेखा व्यवस्थापनतर्फ सरकारी कार्यालयमा आर्थिक कारोबार गर्दा अपनाउनुपर्ने प्रक्रिया, बिल–भरपाई व्यवस्थापन, खर्च लेखांकन, अभिलेख राख्ने तरिका, आर्थिक प्रतिवेदन तथा आन्तरिक नियन्त्रण प्रणालीका विषयमा प्रशिक्षण दिइएको थियो । सार्वजनिक स्रोतको प्रयोग गर्दा पारदर्शिता, जवाफदेहिता र आर्थिक अनुशासन कायम गर्नुपर्ने विषयलाई तालिममा विशेष प्राथमिकता दिइएको थियो । तालिम कार्यक्रममा सहभागी कर्मचारीहरूले कार्यालयमा दैनिक रूपमा आइपर्ने सार्वजनिक खरिद तथा लेखासम्बन्धी समस्याबारे प्रश्न राखेका थिए । प्रशिक्षकले सहभागीका जिज्ञासाको सम्बोधन गर्दै कानुनी तथा व्यवहारिक पक्षलाई उदाहरणसहित स्पष्ट पारेका थिए ।
तालिममा प्रस्तुतीकरणसहित अन्तरक्रियात्मक विधि अपनाइएको थियो । सहभागीहरू समूहमा बसेर प्रशिक्षणमा सहभागी भएका थिए, भने प्रशिक्षकले सार्वजनिक खरिद तथा लेखासम्बन्धी विषयमा प्रस्तुतीकरण गरिरहेका थिए । तालिममा आवश्यक कागजात तथा अध्ययन सामग्रीसमेत प्रयोग गरिएको थियो । सार्वजनिक निकायमा हुने आर्थिक तथा प्रशासनिक गतिविधिलाई प्रभावकारी बनाउन कर्मचारीको क्षमता अभिवृद्धि महत्वपूर्ण मानिन्छ । विशेषगरी सार्वजनिक खरिदमा देखिन सक्ने प्रक्रियागत कमजोरी, कागजात व्यवस्थापन तथा कानुनी प्रावधानको जानकारी अभावलाई कम गर्न यस्ता तालिम उपयोगी हुने आयोजकको अपेक्षा रहेको छ । तालिमले सहभागी कर्मचारीहरूलाई सार्वजनिक खरिद तथा लेखा व्यवस्थापनका आधारभूत तथा व्यवहारिक पक्षबारे थप जानकारी हासिल गर्न सहयोग पुगेको सहभागीहरूले बताएका छन्। तालिमबाट प्राप्त ज्ञानलाई सम्बन्धित कार्यालयको नियमित कार्यसम्पादनमा प्रयोग गर्दै सार्वजनिक स्रोतको उचित व्यवस्थापन, पारदर्शिता र जवाफदेहिता कायम गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ ।
विभिन्न कार्यक्रमहरुमा विद्यालयहरुले ज्ञान र सिपको कमिका कारण पुरै प्रकृया नपुर्याई काम गरिदा धेरै जसो उजुरी अख्तियार दुरुपयोग अनुसंधान आयोगमा पर्ने गरेको तथ्याँक प्रस्तुत हुने गरेको छ । धेरै जसो विद्यालयमा लेखापालका काम समेत प्रधानाध्यापकहरुले नै गर्ने गरेका छन, प्रमुख सुवेदीले भने, प्रधानाध्यापकहरुले असल नियतले काम गर्न खोजे पनि प्रकृया मिलाउन नजान्दा अनियमितता भएको देखिन्छ । तर अनुसंधान गर्दै जादा अनियमितता भन्दा प्रकृयागत त्रुटी धेरैमा देखिने गरेको उनले सुनाएका थिए ।
यस्ता कार्यक्रमहरु नियमित रुपमा सम्बन्धित पालिकाका शिक्षा शाखाहरुले गरिदै जानु पर्ने हो,उनले भने,तर प्रधानाध्यापकहरुको माग र गुनासोलाई मध्यनजर गरि यो दुई दिइने तालिम प्रदान गरिएको छ । तर सम्पुर्ण लेखा प्रकृया पुरा गर्न यो दुई दिनको तालिम भने प्रयाप्त होईन, उनले थपे, लेखा ब्यवस्थापन अध्ययन गरेका प्रधानाध्यापकलाई सहज भए पनि लेखा ब्यवस्थापन विषय अध्ययन नगरेका प्रअहरुलाई लेखा संचालन चुनौती नै रहेको छ । लेखा ब्यवस्थापन एक छुट्टै विधा नै हो,तर प्राथमिक विद्यालयहरुमा अधिकाँस प्रधानाध्यापकहरु शिक्षा संकाय वा अन्य विदामा अध्यापन गरेको हुदा समस्याहरु आउने गरेको छ ।
