पृथ्वीचन्द्र अस्पतालमा रेडियोलोजिष्ट नहुदा सेवा प्रवाहमा असर

नवलपरासी,३० भदौ
जिल्ला पृथ्वीचन्द्र अस्पतालमा विगत तिन महिना देखी रेडियोलोजि विशेषज्ञ चिकित्सक(रोडियोलोजिष्ट) नहुदा सेवा प्रवाहमा असर परेको छ । संघिय सरकार अन्तरगतको गजेन्द्र नारायण अस्पतालमा दरबन्दी भई काजमा खटिएर पृथ्वीचन्द्र अस्पतालमा सेवा दिदै आएका रेडियोलोजी विशेषज्ञ चिकित्सक डा.प्रकाश ढकाललाई संघिय सरकारले काज फिर्ता बोलाए देखी अस्पतालमा रेडियोलोजी विशेषज्ञ विहिन बने पछि समस्या देखिएको अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीले जानकारी गराएका हुन् ।
संघिय सरकारमा दरबन्दी हुने तर काम प्रदेश सरकार मातहत रहेका अस्पतालमा कार्यरत देश भरिका कर्मचारी संघियमै फिर्ता बोलाउने संघिय सरकारको निर्णयका कारण अहिले समस्या उत्पन्न भएको उनको भनाई थियो । अस्पतालमा १२ जना विशेषज्ञ चिकित्सकले सेवा दिदै आएका छन,उनले भने,तर ति विशेषज्ञ चिकित्सकलाई पनि रोग पहिचान गर्नका लागि रेडियोलोजी विशेषज्ञ चिकित्सक आवश्क पर्छ । यस्ले गर्दा उपचारमा समस्या देखिन थालेको अध्यक्ष चौधरीले जानकारी गराए ।
समस्या बारे लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयलाई लेखि पठाएका छौ । तर प्रदेश सरकारले ब्यवस्थापन गर्न सकेको छै्रन् । फिर्ता भएका चिकित्सक लगायतका कर्मचारी आवश्यक परेमा संघिय सरकारले पुनःप्रदेश सरकारमा पठाउने गरि निर्णयमा पुनरावलोकन भएको सुनिएको छ, उनले थपे, यसका लागि प्रदेश सरकारले पृथ्वीचन्द्र अस्पतालको समस्याबारे संघिय सरकारलाई जानकारी गराई सकेको छ । तर हालसम्म प्रदेश सरकार र संघिय सरकार कहिँकतैबाट ब्यवस्थापन हुन सकिरहेको छैन् ।
अस्पतालमा आन्तरिक स्रोतबाट ३३ जना र दरबन्दीकै ७० जना चिकित्सक कर्मचारी अस्पतालमा कार्यरत छन् । तर एक जना रेडियोलोजी विशेषज्ञ चिकित्सकले एक्सरे,भिडियो एक्सरे,युएसजि लगायतका सेवाका उपकरण भए पनि सञ्चालन गरि रोग पहिचानमा समस्या हुदा आएका विरामी भौतारिन परेको स्थानियले बताएका छन् । अन्य विशेषज्ञ नै भएर के गर्ने ? नागरिक समाज नवलपरासीका सचिव समेत रहेका स्थानिय अनिल अग्रहरीले बताए । सरकार चाहे प्रदेशको हो वा संघिय हो ? जनताले सरकार चिन्नु भन्दा सेवा खोज्छ । आन्तरिक समन्वय मिलाउने कार्य सम्बन्धित निकाय वा सरकारहरुको हो ।
जनताले नै तिनै तहका सरकारमा प्रतिनिधि पठाएको छन् । जनताले बुझाएका राजस्वले कर्मचारी सेवा सुविधा लिदै आएका छन् । तर जनताले सेवा लिइने बेला संघ,प्रदेश र स्थानिय सरकारको बहाना देखाउदै सेवाबाट बन्चित गरिनु नागरिकको मौलिक अधिकारको हनन मात्रै होईन,मानवअधिकार पनि हनन हो, उनले भने, सरकारले जनतालाई प्राथमिकता भन्दा आफ्‌ना सेवा सुविधा र रवाफ देखाउदा जनता सेवाबाट बन्चित हुन परेको उनको आरोप थियो ।
उनका अनुसार अस्पतालमा आवश्यक इमेजिङ सेवा उपलब्ध भए पनि त्यसको विशेषज्ञ व्याख्या तथा रिपोर्टिङका लागि रेडियोलोजिस्ट नहुँदा चिकित्सक र बिरामी दुवैलाई समस्या हुने गरेको अस्पतालका प्रमुख वृज कुमार यादवले स्वीकार गर्दै भने,यसका लागि अस्पताल ब्यवस्थापन र प्रशासन दुबैबाट पहल भई रहेका छन् । उनका अनुसार अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये धेरैलाई रोगको अवस्था पहिचान गर्न एक्स–रे, अल्ट्रासाउन्ड लगायतका रेडियोलोजीसम्बन्धी परीक्षण आवश्यक पर्ने गर्छ । तर परीक्षणबाट प्राप्त रिपोर्टको विशेषज्ञ मूल्यांकनका लागि रेडियोलोजिस्टको उपलब्धता नहुँदा कतिपय बिरामीलाई थप परीक्षण वा विशेषज्ञ सेवा लिन अन्य अस्पताल तथा निजी स्वास्थ्य संस्थामा जानुपर्ने अवस्था रहेकोे छ ।
विशेषगरी जटिल प्रकृतिका बिरामी, दुर्घटनामा परेका व्यक्ति, गर्भवती महिला तथा शरीरभित्रको अवस्थाबारे विस्तृत परीक्षण आवश्यक पर्ने बिरामीका लागि रेडियोलोजिस्टको भूमिका महत्वपूर्ण हुन्छ। इमेजिङ परीक्षणबाट प्राप्त तस्वीरको आधारमा रोगको प्रकृति र गम्भीरता पहिचान गरी उपचारको उपयुक्त विधि छनोट गर्न रेडियोलोजिस्ट र सम्बन्धित चिकित्सकबीचको समन्वय आवश्यक मानिन्छ ।
अस्पतालमा रेडियोलोजिस्टको अभाव हुँदा सामान्य उपचारमा समेत थप समय लाग्ने तथा कतिपय अवस्थामा बिरामीलाई बाहिर रिफर गर्नुपर्ने अवस्था आउने गरेको स्वास्थ्यकर्मीहरू बताउने गरेका छन् । यसले अस्पतालबाट प्रदान हुने विशेषज्ञ स्वास्थ्य सेवाको प्रभावकारितामा समेत असर पार्न सक्ने देखिएको छ । बिरामीका आफन्तहरूका अनुसार सरकारी अस्पतालबाट सहज र कम खर्चमा उपचार सेवा पाउने अपेक्षामा अस्पताल आउने गरे पनि आवश्यक विशेषज्ञ सेवा उपलब्ध नहुँदा निजी अस्पताल वा अन्यत्र जानुपर्ने बाध्यता सिर्जना हुने गरेको छ। यसबाट उपचार खर्च बढ्नुका साथै बिरामी र आफन्तको समयसमेत खर्च हुने गरेको उनीहरूको गुनासो छ ।
स्थानीयवासीले जिल्लाकै प्रमुख सरकारी अस्पतालमा आवश्यक विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन ्। अस्पतालमा उपकरण मात्र थपेर पर्याप्त नहुने भन्दै त्यसलाई सञ्चालन तथा रिपोर्टिङ गर्ने दक्ष जनशक्तिको समेत नियमित व्यवस्था हुनुपर्ने उनीहरूको भनाइ छ । अस्पताल प्रशासनले पनि रेडियोलोजी सेवा प्रभावकारी बनाउन आवश्यक जनशक्ति व्यवस्थापन महत्वपूर्ण रहेको जनाएको छ । त्यसैले अस्पतालमा रेडियोलोजिस्टसहित आवश्यक विशेषज्ञ चिकित्सकको नियमित दरबन्दी तथा सेवा सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको छ । स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले अस्पतालमा रहेका उपकरणको पूर्ण उपयोगसँगै दक्ष जनशक्तिको उपलब्धता सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *