
नवलपरासी,२६ चैत्र, नवलपरासीमा विहिवार “विद्युतीय सुरक्षा दिवस” विभिन्न जनचेतनामूलक कार्यक्रमसहित मनाइएको छ । नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रको आयोजनामा प्रभातफेरी गर्दै र्याली गरेर सो दिवस मनाइएको हो ।
परासीबो बुद्धचोकबाट शुरु भएको सो प्रभतफेरी र्याली विभिन्न लोकतान्त्रिक चोक हुदै बजार परिक्रमा गरेको थियो । विद्युतयि सुरक्षा दिवस विद्युतीय दुर्घटना न्यूनीकरण गर्ने, सुरक्षित प्रयोगको अभ्यास बढाउने तथा सर्वसाधारणलाई सचेत बनाउने उद्देश्यले यो दिवस हरेक वर्ष मनाइँदै आएको छ । यस अवसरमा नेपाल विद्युत प्राधिकरण ले विभिन्न स्थानमा सचेतना ¥याली, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा बोल्दै प्राधिकरणका अधिकारीहरूले पछिल्ला वर्षहरूमा विद्युत् विस्तारसँगै दुर्घटनाको जोखिम पनि बढ्दै गएको उल्लेख गरे।
विशेषगरी अव्यवस्थित तार जडान, पुराना उपकरणको प्रयोग, भिजेको हातले स्विच चलाउने जस्ता कारणले दुर्घटना हुने गरेको उनीहरूको भनाइ थियो। कार्यक्रममा सहभागी विशेषज्ञहरूले घरायसी तथा औद्योगिक क्षेत्रमा विद्युत् प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे विस्तृत जानकारी दिएका थिए। उनीहरूले तार जडान गर्दा दक्ष प्राविधिकको सहयोग लिनुपर्ने, गुणस्तरीय सामग्री प्रयोग गर्नुपर्ने तथा समय–समयमा निरीक्षण गर्नुपर्नेमा जोड दिएका थिए। साथै, बालबालिकालाई पनि विद्युत् जोखिमबारे सानैदेखि शिक्षा दिनुपर्ने आवश्यकता औंल्याइएको थियो। विशेषज्ञहरूका अनुसार नेपालमा अझै पनि धेरै स्थानमा खुला तार, अव्यवस्थित पोल तथा असुरक्षित जडानका कारण जोखिम कायमै रहेको छ। ग्रामीण क्षेत्रमा जनचेतनाको कमी र प्राविधिक जनशक्तिको अभावले दुर्घटना बढ्ने गरेको बताइएको छ। त्यसैले सरकारले पनि विद्युत् सुरक्षा सम्बन्धी नीति कडाइका साथ कार्यान्वयन गर्नुपर्ने माग उठाइएको छ।
विद्युतीय सुरक्षा दिवसको अवसरमा सरोकारवाला निकायहरूले सुरक्षित विद्युत् प्रयोगका लागि पाँच मुख्य सन्देश पनि दिएका छन— (१) प्रमाणित प्राविधिकबाट मात्र जडान गराउने, (२) गुणस्तरीय तार तथा उपकरण प्रयोग गर्ने, (३) भिजेको अवस्थामा विद्युत् उपकरण नचलाउने, (४) बालबालिकालाई स्विच तथा तारबाट टाढा राख्ने, र (५) समस्या देखिए तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउने।कार्यक्रमको समापन गर्दै आयोजकहरूले विद्युत् सुरक्षा सबैको जिम्मेवारी भएको उल्लेख गर्दै सचेत र जिम्मेवार व्यवहार अपनाउन आग्रह गरेका छन्। यस दिवसले जनमानसमा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास व्यक्त गरिएको छ।
