
नवलपरासी,१४ पुस
जिल्लामा खोपको अवस्था सुधारोन्मुख हुदै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनप्रतिनिधि तथा सरोकारावालालाई जानकारी गराएको छ । परासीमा आयोजित नियमित खोप सुदृढिकरणका लागि निर्वाचित जनप्रतिनिधि तथा सरोकारवालासँगको पैरवी कार्यक्रममा सो जानकारी गराइएको हो ।
खोपको पृष्टभुमि र जनस्वास्वास्थ्यमा खोपको भुमिकाबारे जानकारी गराउदै स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाहीले राणाकालकै राणाशासनका संस्थापक जंगबहादुर राणाको पाला देखी नै नेपालमा खोप लगाउने कार्य प्रवेश गरेको बताए । त्यसको निरन्तरता अहिले कायम रहेको छ । समय अनुसार नै खोपको संख्या पनि बढदै गएको छ । खोपकै कारण खोप शुरु हुनु अगावै नेपालीको सरदर आयु ३५ बर्ष मात्र भएको तर अहिले सरदर आयु वृद्धि भई ७१ बर्ष बढि भएको पुष्टि भई सकेको छ । खोपले मृत्यु दरलाई घटाउदै,रोग विरुद्ध लड्ने क्षमता बढाउदा अकालमा ज्यान गुमाउने संख्या न्युन हुदै जादा अहिले सरदर आयुमा वृद्धि भएको उनले बताएका थिए ।
जनस्वास्थ्यमा खोपको महत्व धेरै भए पनि अहिले पनि ग्रामिण क्षेत्रमा खोप केन्द्रहरुको अवस्था दयनिय रहेको जनाउदै उनले पाल्हीनन्दनमा खाटमा खोप केन्द्र सञ्चालन गर्नु परेको तस्विर समेत देखाएका थिए । जनस्वास्थ्यमा खोपको महत्व धेरै छ,उनले भने,यस प्रति जनप्रतिनिधिहरुले खोप केन्द्र ब्यवस्थापन गर्नुमा चाँसो लिइनु पर्ने अवस्था छ । रोग लागेर स्वास्थ्य केन्द्र र अस्पतालमा उपचार गराउनु भन्दा बाल्य अवस्थामै बालबालिकालाई खोप लगाइयो भन्ने रोग विरुद्ध लड्ने क्षमताको विकास गर्छ ।
रोग नै नलाग्ने अवस्था सृजना गर्छ,उनले थपे,त्यो भएर स्वास्थ्य केन्द्र र अस्पतालसँगै खोप केन्द्र ब्यवस्थापन र खोप लगाउनु पर्ने जनचेतनालाई निरन्तरता आवश्यक देखिन्छ । उनका अनुसार जिल्लामा २२ करोड रकम भन्दा बढिको खोपमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले खर्चने गरेको छ । खोप केन्द्रको चुनौती अहिले खोप नोक्सान बढि हुने अवस्था देखिन थालेको उनको भनाई थियो । १८ प्रतिसतसम्म खोप खेर जाने अवस्था देखिन थालेको छ । एउटा खोप राखिएको सिसीमा ५ देखी १० भाईलसम्म हुन्छ,उनले थपे, एक पटक सिसी खोलिदा सबै खर्च गर्नु पर्छ,होईन भने फाल्नु पर्ने अवस्था हुन्छ ।
खोप नोक्सानीको हिसाब गर्ने हो भने झण्डै ४ करोड (३ करोड ९६ लाख) बराबरको नोक्सान देखिएको छ । खोपका लागि यदि घुम्ति अवस्था र बालबालिकाको तथ्याँकसँग तालमेल गरि खोप लगाउने कार्यको संयन्त्र बनाउने हो,ति धेरै हदसम्म खोप नोक्सानी बचत गर्न सक्ने अवस्था सरोकारवालाले औल्याएका थिए । यसका लागि जिल्ला स्थित सबै पालिकाका स्वास्थ्य शाखाहरु र मातहतका स्वास्थ्य चौकी तथा खोप केन्द्रसँग तालमेल आवश्यक रहेको सरोकारवालाले बताएका थिए । कार्यक्रम जिसस प्रमुख भगौती प्रसाद यादवको अध्यक्षतामा भएको थियो । जिल्लाका सबै पालिकाका प्रमुख उप प्रमुख,स्वास्थ्य शाखाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।
