
नवलपरासी,२९ भदौ
जेनजी आन्दोलन पश्चात अवरोध भएको सरकारी सेवाहरु आईतवार देखी शुचारु राख्न सरकारले गरेको निर्देशन अनुसार जिल्लाका अधिकाँस कार्यालयबाट सेवा सुचारु भएको छ । सेवाग्राही कम मात्रामा आए पनि कार्यालयमा क्षति नपुगेका कार्यालयहरुले सेवा सुचारु राखेको र क्षति पुगेका कार्यालयहरुले आँशिक सेवा दिन सुचारु गरेका हुन् ।
कार्यालयमा क्षति नपुगेका कार्यालयले विहानै देखी सेवा प्रवाहका कार्य थालेका थिए भने , जिल्ला स्थित सरकारी कार्यालयहरुमा भएको क्षति मुल्याँकनका लागि शनिवार मात्रै निर्णय गरेको र आईतवार देखी क्षति मुल्याँकन टोली सबै कार्यालयमा पुग्ने,क्षतिविवरण तयार गर्ने र स्थलगत मुचुल्का गरे पश्चात कार्यालयका कर्मचारी सरसफाईमा जुटेका थिए । कार्यालयमा धेरै क्षाति पुगेको रामग्राम नगरपालिकामा पनि ढिलो गरि क्षति मुल्याँकन भए पछि कार्यालयका कर्मचारी सरसफाईमा जुटेको कर्मचारीहरुले बताए ।
नगरपालिकाको लेखा शाखा र योजना शाखाका कागजात धेरै जसो जोगिएको भए पनि नक्सा,पन्जिका,शिक्षा,स्वास्थ्य,प्रशासन,जिन्सी लगायतका शाखाका धेरै काजजात,फर्निचर,कम्प्युटर जलेका छन् । आईतवार विहानै सरसफाई गराई कार्य शुचारु गर्नमा कर्मचारी लागेको नगरपालिका पुगेकी नगर उपप्रमुख सम्झाना चौधरीले बताईन् । सेवाका लागि आउने सेवाग्राहीले अतिआश्यक सेवा जसरी पनि ब्यवस्थापन गरेर गर्नु पर्ने,दिन नसक्ने सेवाहरुबारे बास्तविकता कारण सुनाउदै सम्झाएर सन्तुष्ट बनाई पठाउनु पर्ने गरि कर्मचारीलाई निर्देशन गरिएको उनको भनाई थियो । सेवा सुचारुबारे केही काम वार्ड कार्यालयबाट पनि अनलाईन गर्न सक्ने हुदा वार्ड कार्यालयबाट सुचारु गराउन नगरपालिका पुगेका १५ नं.वार्डका वार्ड अध्यक्ष धनपत यादव र वार्ड नं.११ का वार्डअध्यक्ष धनिराम यादवले पनि कार्यालय प्रमुखसँग जे जति साधनस्रोत छ,कर्मचारी परिचालन गरि सेवाहरु प्रभावकारी बनाउन आग्रह गरेका थिए ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र पाण्डेले क्षति नपुगेका कार्यालय बाहेक नगरपालिका अन्तरगतका विद्यालय,वार्डकार्यालय र स्वास्थ्यचौकीबाट सेवा प्रवाह हुने र नगर कार्यपालिकाका कार्यालय र वार्ड नं.१२ का वार्ड क्षतिपुगेको हुदा आर्को सुचना प्रकाशित नभएसम्म सेवा बन्द हुने भनि जानकारी गराएका छन् । त्यसैगरि सरावल गाउपालिकाले पनि दिन सक्ने सेवाको जानकारी गराउदै सुचना जारी गरेको छ । पाल्हीनन्दन गाउपालिकाले पनि सबै सेवा शुरु गर्न निर्देशन सहितको सुचना जारी गरि सकेको छ । सदरमुकाम परासीमा पनि जिल्ला अदालत,मालपोत कार्यालय,नापी कार्यालय,प्रशासन कार्यालयका सबै सेवाहरु सहज ढंगले भएको थियो । विगतको तुलनामा कम सेवाग्राही आएको देखिएको थियो । बैंक तथा वित्तिय सस्थाहरु पनि भिडभाड बढेको थियो ।

भदौ २४ गते जेनजीको आन्दोलनमा नवलपरासीमा भएका क्षतिहरुमा सरकारी कार्यालयहरु मध्ये जिल्ला सवमन्य समिति – समान पुरै बाहिर निकालेर आगो लगाइएको छ, जिल्ला प्रशासन कार्यालयः– गेटमा सामान्य क्षति, करदाता सेवा कार्यालयः– भित्र पसेर तोडफोड, कागज लथालिङ्ग अवस्थामा, नवलपरासी जिल्ला अदालतः– बाहिर गेटमा र भित्र पनि क्षति, जिल्ला सरकारी वकीलको कार्यालयः– समान तोडफोड, आगजनी, जिल्ला कारागार नवलपरासीः– समान तोडफोड , आगजनी, कैदी फरार, राष्ट्रिय आवास कम्पनीः– आगजनी, उद्योग वाणिज्य संघ बर्दघाटः– आगजनी, रामग्राम नगरपालिकाः– गाडी पूर्णमा जलाएर नष्ट, भित्र कुर्सी, सोफा कागजातमा एसीमा आगो, सुनवल नगरपालिकाः– सामान्य क्षति भएको थियो ।
यसैगरि बर्दघाट नगरपालिकाः– नगरपालिका परिसर भित्र रहेको गाडी समान, भित्र रहेको सोफा, कागजहरु जलेर नष्ट, केही वार्ड कार्यालयमा समेत आगो,पाल्हिनन्दन गाउँपालिका ः– एलसीडी, सिसिटिभी र बाहिर आवरणमा तोडफोड, सरावल गाउँपालिका ः– पालिका भित्रका सोफा,कुर्सी, कागज लगायतमा आगो, सभाहलमा पनि आगो , २ र ७ नम्बर वडा कार्यालयमा आगजनी, प्रतापपुर गाउँपालिकाः– एउटा गाडी, गेट, भित्रका सोफा आदिमा आगो, अन्य कागजातमा समेत आगो,सुस्ता गाउँपालिका ः– गाउँपालिकाका गाडी, समान कागजातमा आगो , जलेर नष्ट र महेशपुर बस पार्कः– सालिक तोडफोड, सामान्य क्षति थियो ।
यसै गरि नवलपरासीका नेताहरु घरमा क्षतिमा पूर्व मन्त्री हृदेश त्रिपाठीको घर तथा निज को छोराले सञ्चालन गरेको चकलेट उद्योगमा आगजनी, प्रतिनिधि सभा सदस्य सरिता भुसालको घरमा आगो, प्रतिनिधि सभा सदस्य विनोद चौधरीको सचिवालयमा आगजनी, तोडफोड तथा लुटपाट,सविधान सभा सदस्य विक्रम खनालको घरमा लागजनी, लुटपाट, लुम्बिनी प्रदेशका मन्त्री देवकरण कलवारको घरमा लुटपाट र आगजनी, प्रदेश सभा सदस्य बैजनाथ जयसवालको निजी सचिवालयमा आगो ,लुम्बिनी प्रदेश सभा सदस्य विश्व प्रेम पाठकको घरका सामानहरू मा आगजनी,पूर्व लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र अधिकारीको घरका सामानहरू मा आगजनी,प्रतापपुर गाउँपालिकाका अध्यक्षको दुई वटै घरमा र उपाध्यक्षको घरमा आगजनी तोडफोड लुटपाट गरिएको थियो ।
त्यसैगरि सुनवल नगरपालिकाका मेयर उपमेयरको घरमा सामान्य क्षति,बर्दघाट नगरपालिकाका मेयर उपमेयरको घरमा आगजनी,पूर्व मेयर धीरज शर्माको घरमा समेत आगजनी,पाल्हिनन्दन गाउँपालिकाका अध्यक्षको घरमा तोडफोड तथा उपाध्यक्षको घरमा तोडफोड , लुटपाट तथा बहुमुल्य सामानमा आगजनी भएको थियो भन्ने राजनीतिक दलका कार्यालयहरुमा क्षति,परासीमा रहेको नेपाली कांग्रेसका दुई वटा कार्यालयमा आगजनी, परासीमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी, परासीमा नेकपा माओवादीको पार्टी कार्यालयमा आगजनी, तोडफोड ,सुनवलमा रहेको नेपाली कांग्रेस पार्टी कार्यालयमा तोडफोड तथा आगजनी, सुनवलमा रहेको नेकपा एमालेको पार्टी कार्यालय तोडफोड तथा आगजनी, बर्दघाटमा रहेको एमाले र नेपाली कांग्रेस पार्टी कार्यालयमा आगजनी,देवेन्द्र राज कँडेल र बैजनाथ जयसवालको निजी सचिवालयमा तोडफोड र आगजनी भएका थिए ।
