भोटेकोसी बाढीपछि सम्पर्कविहीन माधवको परिवारलाई राहत

नवलपरासी, १४ भदौ ।
भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन रहेका पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ नयाँटोलका माधव चौधरीको परिवारलाई राहत सामग्री उपलब्ध गराइएको छ।

३५ वर्षीय माधव बाढीपछि सम्पर्कविहीन भएपछि उनको परिवार आर्थिक समस्यामा परेको छ। घरको मुख्य आम्दानी गर्ने व्यक्ति नै सम्पर्कविहीन भएपछि परिवारलाई दैनिक खर्च चलाउनसमेत कठिनाइ भएको हो।

परिवारको अवस्थाबारे जानकारी पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरावलका सभापति वीरेन्द्र यादवले आइतबार चौधरीको घरमै पुगेर खाद्यान्नलगायत राहत सामग्री उपलब्ध गराएका छन्। करिब एक महिनाका लागि पुग्ने गरी चामल, दाल, आलु, प्याज, तेललगायत सामग्री सहयोग गरिएको छ।

माधव वेत्रावती विद्युत् आयोजनाको हाइटेन्सन क्षेत्रमा ट्याक्टर चालकका रूपमा काम गर्दै आएका थिए। भोटेकोसीमा आएको बाढीपछि उनी सम्पर्कविहीन भएका हुन्।

माधव सम्पर्कविहीन भएपछि उनकी श्रीमती र छोराछोरी उनको अवस्थाबारे चिन्तित छन्। परिवारले भने माधव सकुशल भेटिने आशा राखेको छ।

माधवकी श्रीमती सीताले सम्बन्धित निकायसँग आफ्ना श्रीमानको खोजी तथा उद्धारका लागि आवश्यक पहल गर्न आग्रह गरेकी छन्। परिवारले राहतसँगै माधवको खोजी र अवस्थाबारे जानकारी पाउनुलाई प्राथमिक आवश्यकता भएको जनाएको छ।

बाढीका कारण परिवारको मुख्य सदस्य सम्पर्कविहीन हुँदा आर्थिक र मानसिक संकटमा परेको चौधरी परिवारलाई तत्काल राहतसँगै खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *