डायलसिस गर्ने उपकरण कहिँ प्रयोगविहिन, कहिँ उपकरण नहुदा उपचारमा समस्या

नवलपरासी,४ साउन
जिल्ला भित्र स्वास्थ्य क्षेत्रमा समान्जस्यता नहुदा कहिँ स्वास्थ्य उपचारमा प्रयोग गरिने करोडौ मुल्यका उपकरण प्रयोग विहिन हुने र कहिँ उपकरण नभएर विरामीलाई सेवा पुर्याउन नसक्ने अवस्था देखिएको छ । जनप्रतिनिधि लगायत सरोकारवाला निकायले विरामीको गम्भिरता भन्दा आफ्नो पब्लिलिसिटीलाई महत्व दिइने मनोविज्ञानका कारण यस्तो समस्या देखिन थालेको हो ।
जिल्ला पृथ्वीचन्द्र जिल्ला अस्पतालमा रहेको ५ वटा डायलासिस मेसिनले दैनिक १७ जना बिरामीलाई निरन्तर सेवा दिँदै आएको छ । बिरामीको चाप बढी भएकाले जिल्ला अस्पतालबाट सेवा लिन नसक्ने बिरामीहरू जिल्ला बाहिर जानुपर्ने अवस्था छ । अस्पतालसँग तालिम प्राप्त जनशतिm र पुर्वाधार पनि छ,तर थप मेसिन खरिद गर्न आर्थिक अभावले मेसिन थपिने अवस्था छैन् । अस्पतालका अनुसार अहिले पनि जिल्लाकै ४० जना विरामी मेसिन थपिए पछि उपचार पाउने प्रतिक्षामा रहेर जिल्ला बाहिर नै डायलसिस गराउदै आएका छन् ।
जिल्ला भित्रै वर्दघाट नगरपालिका र सुनवल नगरपालिकामा मेसिन राखिएका छन् । तर पुर्वाधार र जनशतिm अभाव छ । कहिँ मेसिन हुने जनशतिm पुर्वाधार नहुने र कहिँ जनशतिm र पुर्वाधार भए पनि मेसिन उपलब्ध नहुने जिल्लाको यो अवस्थाले जिल्लाकै विरामी बाहिर डायलासिस सेवा लिन परेको अवस्था छ । जिल्ला भित्र कै दुई पालिकासँग रहेका प्रयोग विहीन भएका मेसिन सञ्चालनमा आए बिरामीलाई सहज हुने पृथ्वीचन्द्र अस्पतालका व्यवस्थापक सिमा काफ्लेको भनाइ छ ।
५० सैयाको पृथ्वीचन्द्र अस्पताल लुम्बिनी प्रदेश सरकार मातहतको अस्पताल हो । सामुदायिक र स्थानिय सरकार भिन्न रहेको हुदा मेसिन प्राप्ती गर्नु पनि गाह्रो विषय नै रहेको उनको भनाई थियो । तर सामन्जस्यता मिलाउन सकेमा ति मेसिन यो अस्पताललाई उपलब्ध भयो भन्ने जिल्लाकै विरामीले जिल्ला भित्र सेवा पाउन सक्ने अवस्था हुन सक्छ,उनले भनिन,तर यो मिलाउन सक्ने निकाय को हो ? त्यही नै निर्काैल छैन् । मेसिन उपकरण उपलब्ध गराउनेले पनि पहुँच र भनसुनकै भरमा उपलब्ध गराउने गरिएको हुदा यस्तो समस्या देखिने गरेको स्थानियबासी बताउछन् । आवश्यकता पहिचान र सञ्चालन गर्न सक्ने अवस्थाको मुल्याँकन गरि उपलब्ध गराउने सस्थाले उपकरण बुझाउन सके उपयोगमा आउथ्यो ।
जिल्ला भित्र स्वास्थ्य उपचारमा प्रयोग हुने भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका डायलासिस मेसिन प्रयोगविहीन बन्न पुगेका छन् । आवश्यक तयारी विना नै आएका स्वास्थ्य उपकरण विभिन्न दातृ निकाय र नेपाल सरकारबाट स्थानीय तह र अस्पतालका लागि प्राप्त ती मेसिन प्रयोगमा आउन नसकेका हुन् । नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलिखेलले बर्दघाट नगरपालिका–१४ को सहिद स्मृतिलाई २०८१ मा उपलब्ध गराएको रु १ करोड २० लाख मूल्य बराबरका ६ वटा डायलासिस प्रयोगविहीन अवस्थामा छन् । आर्थिक अभाव र मेसिन सञ्चालनका लागि संरचना अभाव भएकाले प्रयोग विहीन भएको अस्पतालले जनाएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डिबीबहादुर थापाले लामो समयदेखि मेसिन प्रयोगमा ल्याउन नसक्दा स्थानीय बिरामीलाई सेवा दिन नसकिएको बताए ।
त्यसैगरी बुटवलस्थित मुटु अस्पतालले केही महिना अघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको रु साढे ८ करोड बराबरका ५ वटा डायलासिस पनि प्रयोगविहीन छन् । नगरको आफ्नै अस्पताल सञ्चालन नआएका कारण ती मेसिन सञ्चालनमा ल्याउन सकिएको छैन । सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले पनि आर्थिक अभाव र प्राविधिक अभावका कारण मेसिन सञ्चालनमा ल्याउन नसकिएको बताए । सुनवलमा १५ श्ययाको अस्पताल निर्माणाधिन छ ।
मेसिन ल्याउने तर ब्यवस्थापन गर्न नसक्ने जिल्लाकै जिम्मेवार निकायहरु स्वास्थ्य प्रति गम्भिर नभएको स्थानियबासीले आरोप लगाउदै आएका छन् । विशेषज्ञहरु रहेको सरकारी अस्पताललाई डायलसिस चलाउन चुनौती हुन्छ,तर आधारभुत अस्पतालले मेसिन ल्याएर थन्काउनु भन्दा ठूले बेथिती के हुन्छ ? नागरिक समाजका पुर्व अध्यक्ष राधेश्याम सिँह सैथवारले भने,यसमा पहल गरेर प्रयोग विहिन मेसिन ति अस्पतालहरुमा सञ्चालन गर्न सक्ने अवस्थामा नआउदासम्म पृथ्वीचन्द्र अस्पताललाई नै उपलब्ध गराउनु तर्फ सरोकारवाला निकाय लाग्नु पर्छ । कोही पाएका मेसिन थन्काएर राख्ने,कोही मेसिन नभएर जनतालाई उपचार नदिई प्रतिक्षा गराउने कार्य हुनु दुखद भएको बताउदै यो जनस्वास्थ्य माथि खेलवाड नै भई रहेको औल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *