जलकुम्भिले भरिएको प्राचीन पाल्ही पोखरी वार्डले सफा गरायो

नवलपरासी,२२ जेठ
विगत बर्ष देखी नै जलकुम्भिले भरिएको प्राचीन सेन कालिन इतिहास बोकेको पाल्ही माझखण्डका प्राचीन पोखरी अहिले सरसफाई गरिएको छ । पाल्हीनन्दन गाउपालिका ४ स्थित पाल्ही भगवती मन्दिर परिसर नजिकैको उक्त पोखरीको ब्यवस्थापन,सरसफाई र सौन्दर्यीकरणमा ध्यान नदिएको आरोप लाग्दै आएकोले वार्ड स्तरिय बजेट विनियोजन गरि वार्डले सो पोखरीको सफाई गरेको हो ।
करिब पाँच विघा क्षेत्रफलमा फैलिएको उत पोखरी सौन्दर्यीकरणका लागि संघिय सरकारले ९० लाख रुपिया विनियोजन गरेको थियो । तर गाउपालिकाले त्यसको आवश्यक विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाई काम गर्ने उपभोक्ता समिति गठन पनि गर्न नसक्दा उक्त पोखरीको सफाई हुन नसकेको जनगुनासो बढदै गए पछि वार्डले आफ्नै पहलमा सो पोखरीको सफाई गरेको जनाएको हो । ठेक्का मार्फत पनि काम गराउन नसक्दा उक्त रकम फ्रिज भएर गएको सोही वार्डका वार्ड अध्यक्ष रविन्द्र कुमार सहानीले बताएका थिए ।
पटक पटक योजना शाखालाई पोखरीका लागि विनियोजित रकम खर्चका लागि डिपिआर बनाउन र ठेक्का लगाउन आग्रह गरेको तर योजनाशाखाले काम नगर्दा ९० लाख बजेट फ्रिज भएको वार्ड अध्यक्ष सहानीले समेत स्वीकार गरेका थिए । कार्यपालिका बैठकमा समेत आफुले पटक पटक कुरा उठाएको तर त्यसबारे योजना शाखाले चाँसो दिई काम नगरि दिदा त्यती ठूलो रकम फ्रिज भएर जानु दुःखद भएको सुनाए । जनगुनासोलाई सम्बोधन गर्न आफुले पहल गरेर वार्डकै बजेट विनियोजन गरि पोखरी सफाई गराएको छु, उनले भने, करिब ५ लाख रकम खर्चेर अहिले पोखरीबाट जलकुम्भि झिकेर सफा गरिएको छ,अगामी दिनमा यसलाई सौन्दर्यीकरण गर्दै लैजाने लक्ष्य रहेको सुनाएका थिए ।
उक्त पोखरीलाई स्थानियले खेतीपाती सिचाईमा समेत प्रयोग गर्दै आएको उनको भनाई थियो । अहिले गण्डक नहरका संरचना बन्दै जादा र भुमिगत सिचाईका लागि बोरिगँ विकल्प बन्दै जादा पोखरीको संरक्षणमा स्थानियबासी तथा सरकारी निकायको पनि चाँसो घट्दै गएको भए पनि यसलाई धार्मिक पर्यटकिय क्षेत्र पाल्ही भगवती मन्दिर परिसरसँगै जोडिएको हुदा यहाँ नौका विहार,जल विहार लगायत अन्य पर्यटकिय पुर्वाधार थपेर पोखरीको उपयोग गर्न सक्ने अवस्था समेत रहेको छ । यहाँ आउने धार्मिक पर्यटकहरुले पनि बेला बेलामा यसबारे ध्यानाकर्षण गराउदै आएका थिए,उनले भने,पोखरीको संरक्षणले जैविक विविधतालाई पनि महत्व दिईने र जमिन मुनि पानी पुनरभरण(रिजार्च) समेत गर्ने हुदा पोखरीलाई बहुउपयोगी बनाउन सकिने गरि योजना बनाउने लक्ष्य छ ।
पाल्ही भगवती मन्दिर परिसरसँग जोडिएको हुदा त्यसलाई सजावट गरि ढुगाँ चलाउने जलविहार गराउने खालका पर्यटकिय स्थान बनाउन सक्ने सम्भाना रहेको छ । पाल्ही भगवती मन्दिरमा दर्शानार्थी आउदा पुजापाठमा लाग्ने गर्छन्,तर उनीहरुसँगै आउने बालबालिका तथा अन्य पर्यटकलाई मनोरन्जनात्मक स्थान बनाउन पनि सकिने स्थान हो । सो स्थानको प्राचीन इतिहास जानकारहरुका अनुसार सेन सामराज्य अन्तरगत नै पर्ने पाल्पा राज्यका तराईका २ प्रगन्ना(इलाका) विनायकपुर र तिलपुर थिए,जुन रोहिणी नदि देखी नारायणी नदीसम्म र हालको भारत महराजगँज जिल्ला भएको भुभाग तिलपुर अन्तरगत थियो । तिलपुरका प्रमुख बजार पाल्ही र निचलौल थिए ।
तानसेन देखी माथागढी र महलपोखरीको बाटो हुदै पाल्हीको ब्यपार चल्थ्यो र बंगालसँग जोडिने यो मार्ग थियो । पाल्पालाई नेपालमा गाभे पछी पाल्हीमा नेपालले कब्जा गरे पनि निचलौलको भुभाग सुगौलीसन्धिले छाड्न परेको देखिन्छ । तराईको भुभागको बारेमा भएका सिमा विवाद सुल्झाउन नेपाल र अँग्रेजका प्रतिनिधिहरुको धेरै पटक पाल्हीमा वाता गरेका थिए, यहिँ कारण नेपाल अँग्रेज युद्धका धेरै दस्तावेजमा पाल्ही उल्लेख भएको पाईन्छ । अवधका नवावहरुसँग विशेष सम्बन्ध रहेका धार्मिक प्रकृतिका पाल्पाली राजा महादत्त सेनले पाल्ही भगवती मन्दिर देखी पुर्वमा शिवालय निर्माण गर्न शुरु भएको र उनको मृत्यु वा अन्य कारणले शिवालयको कार्य पुरा हुन नसकेको सन १८३० तिर त्यहाँ आईपुगेका एक वृटिस अध्ययेताले आफ्ना विवरणमा उल्लेख गरेका छन् ।
उक्त स्थान राजनीतिक इतिहास मात्रै नभई पौराणिक कुरामा पनि उल्लेख भएको पाइन्छ । जुन शिवपुराण कथामा लेखिएका छन् । तिनै पुराणलाई पछ्याउदै पछिल्ला दिनका राजाहरुले पनि सोही अनुरुपका धार्मिक स्थान विकास गर्नमा लागेको अनुमान गर्न सकिन्छ । उक्त पुराणका अनुसार शिव पत्नि आदीशक्ति सतिले देह त्याग गरे पश्चात विरक्त भएका शिवले उनको शव लिएर ब्रम्हाण्डमा चक्र लगाउदै गर्दा सतिको शरिर भाग खसेको स्थान पाल्ही भगवती कोटकी माई स्थान हो ।
जुन शक्तिपिठको रुपमा स्थापित छ । पछि सति पार्वतीको रुपमा जन्म लिए पश्चात उनका छोरा गणेश र कार्तिकेलाई सतिको अंगभाग खसेको स्थान देखाउने क्रममा शिव समेत सो स्थानमा आएका थिए । ति स्थान नै शिवपार्वती सिद्धधाम लोहरौली भएको स्थान मानिन्छ । उक्त दुबै स्थानको सेन समाराज्यले संरक्षण गर्दै आएको थियो । तर आधुनिक नेपालमा उक्त स्थानहरुको संरक्षण,सम्वद्र्धन,विकास पुर्वाधार निर्माण तथा प्रवद्र्धन गर्ने खालका कार्यक्रम हुन सकिरहेको छैन् ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *