
नवलपरासी,८ मंसिर
पाल्हीनन्दन गाउँपालिका–५ विसुनपुरा नाकामा रहेको छोटी भन्सार कार्यालयको जीर्ण भवन अहिले राज्यको नीतिगत बेवास्ताको एउटा उदाहरण बनेको छ । कुनै समय सीमावर्ती क्षेत्रका साना व्यवसायीका लागि सामान आयात गर्ने सहज माध्यम बनेको यो कार्यालय बन्द भए पछि भवन अलपत्र छ ।
कार्यालय सञ्चालन नहुँदा भवन जीर्ण बन्दै गएको छ भने त्यससँगै स्थानीय व्यापारको सहजता र राज्यको राजस्व संकलनको अवसरसमेत हराउँदै गएको स्थानीयको गुनासो छ । छोटी भन्सार बन्द हुँदा साना व्यवसायीलाई सास्ती, सीमाबाट सामानको ओसारपसार भने रोकिएन; राज्यले राजस्व गुमाएको र अवैध कारोबार गर्नेहरूलाई फाइदा पुगेको स्थानीयको आरोप पनि छ ।
भारतसँग सीमा जोडिएको विसुनपुरा नाकामा छोटी भन्सार सञ्चालनमा रहँदा स्थानीय व्यापारीले दैनिक उपभोग्य वस्तु तथा अन्य आवश्यक सामान भन्सार महसुल तिरेर ल्याउने गरेका थिए । व्यापार ठूलो नभए पनि साना व्यवसायीका लागि यो व्यवस्था निकै उपयोगी थियो । आफ्नो क्षमताअनुसार थोरै सामान ल्याउने, तोकिएको भन्सार महसुल बुझाउने र कानुनी रूपमा व्यापार गर्ने वातावरण थियो । तर सरकारले छोटी भन्सार हटाउने नीति लिएपछि विसुनपुरा नाकाको त्यो सुविधा समाप्त भयो । महेशपुर भन्सारलाई मूल भन्सारमा परिणत गरिए पछि नवलपरासीका विसुनपुरासहित भुजहवा, झुलनीपुर र बसहिया नाकामा रहेका छोटी भन्सार कार्यालयहरू बन्द भए । त्यस पछि सीमावर्ती क्षेत्रका साना व्यवसायीले सामान आयात गर्न विभिन्न कठिनाइ भोग्नुपरेको स्थानीय बताउँछन् ।
अहिले धेरै परिमाणमा सामान ल्याउनुपरे मूल भन्सार महेशपुर पुग्नुपर्ने बाध्यता छ । थोरै सामान ल्याउने साना व्यापारीका लागि भने भन्सार प्रक्रिया झन्झटिलो बनेको छ । यसले स्थानीय बजारमा सानो पुँजीबाट व्यापार गर्ने व्यवसायीलाई प्रत्यक्ष असर पारेको छ । एक स्थानीय व्यवसायीका अनुसार छोटी भन्सार सञ्चालनमा रहँदा सामानको परिमाणअनुसार भन्सार महसुल तिरेर ल्याउन सहज थियो । अहिले त्यो व्यवस्था हटेपछि साना व्यवसायी समस्यामा परेका छन् । ‘पहिले छोटी भन्सार हुँदा आवश्यक सामान ल्याउँदा भन्सार तिरेर ल्याउन पाइन्थ्यो, उनले भने, अहिले छोटी भन्सार हटेपछि कि धेरै सामान लिएर मूल भन्सार जानुपर्छ, नत्र थोरै सामान ल्याउँदा पनि समस्या हुन्छ । कतिपय अवस्थामा प्रहरीलाई केही रकम दिएर सामान ल्याउनुपर्ने अवस्था छ,’।
स्थानीयको गुनासो यतिमै सीमित छैन । छोटी भन्सार बन्द भएपछि नाकाबाट सामानको ओसारपसारमा कुनै कमी नआएको उनीहरूको दाबी छ । फरक यति मात्रै भएको छ कि पहिले भन्सार महसुल तिरेर सामान ल्याउने व्यवस्था थियो, अहिले भन्सारको औपचारिक प्रक्रिया बाहिरबाट सामान भित्रिने गरेको उनीहरू बताउँछन् । यसले राज्यले प्राप्त गर्नुपर्ने राजस्व गुमाएको र अवैध कारोबार गर्ने समूहलाई फाइदा पुगेको स्थानीयको आरोप छ । राजस्व उठाउने बाटो बन्द, कारोबार भने यथावत् नै छ ।
जिल्ला हाटबजार व्यवसायी समन्वय समितिका अध्यक्ष राधेश्याम अग्रहरी छोटी भन्सार बन्द गर्ने निर्णयले राज्यलाई नै आर्थिक नोक्सानी पु¥याएको बताउँछन् । उनका अनुसार जिल्लाका चारवटा छोटी भन्सारबाट मासिक पाँच–पाँच लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको भए पनि राज्यको ढुकुटीमा महिनामा २० लाख रुपैयाँ जम्मा हुन सक्थ्यो । ‘जिल्लाका चारवटा छोटी भन्सारबाट महिनामा पाँच–पाँच लाख रुपैयाँ राजस्व उठेको भए पनि २० लाख रुपैयाँ राज्यलाई आम्दानी हुन्थ्यो । अहिले भन्सार बन्द छ, तर सामानको पैठारीमा कुनै कमी आएको छैन । राज्यले राजस्व गुमाएको छ, साना व्यवसायीले दुःख पाएका छन्,’ अग्रहरीले भने, कि यसबारे राज्य नै बेखबर भए जस्तो देखिन्छ, कि कुनै माफियाहरुको प्रभावमा परेको हुन सक्छ ।
उनले छोटी भन्सार बन्द गराउन केही ठूला व्यवसायी र तस्करीमा संलग्न समूह सक्रिय रहेको आरोप समेत लगाए । छोटी भन्सार सञ्चालनमा रहँदा साना व्यवसायीले कानुनी रूपमा सामान ल्याउन पाउने भएकाले अवैध कारोबार नियन्त्रणमा सहयोग पुग्ने उनको भनाइ छ । अग्रहरीले सीमावर्ती क्षेत्रमा प्रहरीका घुमुवाको निगरानी रहने र सामान ओसारपसारका क्रममा रकम लिएर छाडि दिने गरिएको आरोप पनि लगाए । यसले भन्सार बन्द हुँदा वास्तविक रूपमा फाइदा कसलाई भइरहेको छ ? भन्ने प्रश्न उठाएको उनको भनाइ छ । उनले यस विषयमा पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको गुनासो गरे । उनका अनुसार छोटी भन्सार बन्द हुँदा सर्वसाधारण र साना व्यवसायीले अनावश्यक सास्ती खेप्नुपरेको छ, भने राज्यले प्राप्त गर्न सक्ने राजस्वसमेत गुमाइरहेको छ । यस विषयमा जनप्रतिनिधिले पनि आवाज उठाउनुपर्ने उनको माग छ ।
भन्सार नाका बन्दले त्यसको भवन अलपत्र छ, सरकारी सेवा हराएको छ । विसुनपुरा नाकामा रहेको छोटी भन्सार कार्यालयको भवन अहिले प्रयोगविहीन अवस्थामा छ । कुनै समय सरकारी सेवा प्रवाह हुने कार्यालय अहिले झारपात र उपेक्षाबीच जीर्ण बन्दै गएको छ । भवनको अवस्था हेर्दा सरकारी संरचना निर्माण गरेपछि त्यसको उपयोग र संरक्षणबारे पर्याप्त ध्यान नदिइएको देखिन्छ । स्थानीयका लागि यो भवन एउटा कार्यालय मात्र थिएन, सीमावर्ती व्यापारलाई व्यवस्थित गर्ने सरकारी उपस्थितिको प्रतीक पनि थियो। भन्सार कार्यालय सञ्चालनमा रहँदा स्थानीय व्यवसायीलाई सामानको वैधानिक आयातमा सहजता थियो। कार्यालय बन्द भएपछि त्यो सुविधा हराएको छ ।
छोटी भन्सार हटाउने निर्णयपछि त्यसको विकल्पमा स्थानीयस्तरमै सहज भन्सार सेवा उपलब्ध गराउने व्यवस्था नहुँदा समस्या थपिएको स्थानीयको भनाइ छ। भन्सार सेवा टाढा हुँदा सानो कारोबार गर्ने व्यापारीलाई समय र खर्च दुवै बढेको छ । छोटी भन्सार अझै आवश्यक छ,यो कुरा मुल भन्सारले पनि स्वीकारेका छ । महेशपुर भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायले पनि सीमावर्ती क्षेत्रमा छोटी भन्सारको आवश्यकता अझै रहेको बताएका छन् । उनले छोटी भन्सार पुनः सञ्चालनको विषयमा आफूले भन्सार विभागमा समेत कुरा उठाउँदै आएको दाबी गरेका थिए ।
सीमावर्ती क्षेत्रका साना व्यवसायीलाई सहज बनाउने र सामानको आयातलाई व्यवस्थित गर्ने दृष्टिले छोटी भन्सार उपयोगी हुन सक्ने उनको भनाइ छ । सरकारले भन्सार व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले छोटी भन्सार हटाउने नीति लिएको भए पनि त्यसबाट स्थानीयस्तरमा सिर्जना भएका समस्या र राजस्व संकलनमा परेको असरबारे पुनर्विचार गर्नुपर्ने देखिन्छ । भन्सार कार्यालय बन्द गरेर मात्रै अवैध कारोबार नियन्त्रण हुन नसक्ने स्थानीयको अनुभव छ । विसुनपुराको अलपत्र भवनले अहिले एउटा महत्वपूर्ण प्रश्न उठाइरहेको छ—राज्यले राजस्व संकलन गर्ने सम्भावना भएको नाका बन्द राख्ने कि त्यहाँको व्यापारलाई कानुनी दायरामा ल्याउने ? स्थानीयको माग स्पष्ट छ, छोटी भन्सार पुनः सञ्चालन गरियोस् वा साना व्यवसायीलाई सहज हुने वैकल्पिक भन्सार व्यवस्था गरियोस्। यसो हुन सके सीमावर्ती क्षेत्रका नागरिकले राहत पाउने, व्यापार व्यवस्थित हुने र राज्यले गुमाइरहेको राजस्वसमेत संकलन गर्न सक्ने उनीहरूको अपेक्षा छ ।
