
नवलपरासी,८ मंसिर
स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न संविधानले व्यवस्था गरे अनुसार दलित महिला जनप्रतिनिधि निर्वाचित भएका छन् । तर, उनीहरूको अनुभवमा निर्वाचित हुनु र निर्णय प्रक्रियामा सहभागी हुन पाउनु फरक कुरा हो ।
दलित समुदायको उत्थान, सामाजिक सुरक्षा, आयआर्जन र क्षमता अभिवृद्धिका लागि योजना तथा कार्यक्रम माग गर्दा आश्वासन मात्र पाउने गरेको उनीहरूको गुनासो छ । अझ दलित समुदायका नाममा बजेट विनियोजन भए पनि त्यसको कार्यान्वयनमा दलित समुदायलाई नै पाखा लगाउने गरिएको उनीहरूको आरोप छ । ‘पहिलो कुरा दलित समुदायका लागि बजेट नै छुट्याइँदैन, छुट्याइएको बजेट तथा कार्यक्रम पनि गैरदलितले सञ्चालन गर्छन्,’ रामग्राम नगरपालिकाका दलित महिला जनप्रतिनिधिहरूले सामूहिक रूपमा आफ्नो समस्या सुनाउँदै भने ।
रामग्राम नगरपालिका–१० की दलित महिला सदस्य चन्द्रधामा रैदासको अध्यक्षता तथा जागरण मिडिया सेन्टरका अध्यक्ष एवं संविधानसभा सदस्य कमला विश्वकर्माको आतिथ्यतामा आयोजित अन्तरक्रिया कार्यक्रममा दलित महिला जनप्रतिनिधिहरूले स्थानीय तहमा भोग्नुपरेका समस्या र विभेदका अनुभव सुनाएका थिए । दलित महिलाको क्षमता अभिवृद्धि गर्ने र उनीहरूको राजनीतिक तथा सामाजिक पहिचान स्थापित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले स्थानीय सरकारको योजना निर्माणदेखि बजेट विनियोजन र कार्यक्रम कार्यान्वयनसम्म आफूहरूको भूमिका कमजोर बनाइएको गुनासो गरे ।
उनीहरूका अनुसार दलित समुदायको उत्थान, सामाजिक सुरक्षा, आयआर्जन, सीप विकास तथा क्षमता अभिवृद्धिका लागि तालिम र कार्यक्रमको प्रस्ताव लिएर नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसमक्ष पुग्दा सकारात्मक आश्वासन पाइन्छ । तर, बजेट विनियोजन गर्ने समयमा भने ती प्रस्ताव प्राथमिकतामा पर्दैनन् । ‘नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई दलित समुदायका लागि कार्यक्रम माग गर्दा हुन्छ, गरौँला भन्छन्,। तर, बजेट बनाउने बेला हाम्रो प्रस्ताव हराउँछ,’ एक दलित महिला सदस्यले भनिन् । उनीहरूले दलित समुदायका लागि विनियोजन भएको बजेटसमेत लक्षित समुदायको सहभागिताबिना अन्य व्यक्तिमार्फत सञ्चालन गरिने गरेको आरोप लगाए । दलित समुदायको आवश्यकता र समस्याका आधारमा कार्यक्रम सञ्चालन हुनुपर्ने भए पनि राजनीतिक पहुँच र व्यक्तिगत सम्बन्धका आधारमा कार्यक्रम बाँडफाँट हुने गरेको उनीहरूको भनाइ छ ।
दलित महिला जनप्रतिनिधिहरूका अनुसार समुदायका नागरिकले आफ्ना समस्या लिएर आफूहरूकहाँ आउँछन्। उनीहरूले ती समस्या सम्बन्धित वडाध्यक्ष, नगर प्रमुख र उपप्रमुखसमक्ष पु¥याउँछन्। तर, पटक–पटक आग्रह गर्दा पनि समस्या समाधान नहुँदा समुदायका अगाडि आफूहरू जवाफ दिन नसक्ने अवस्थामा पुगेको उनीहरूको गुनासो छ । रामग्राम नगरपालिका–१ की कमली हरिजनले नगरपालिकाको कार्यपालिका तथा निर्णय प्रक्रियामा दलित महिला सदस्यहरूको उचित सहभागिता नगराइएको आरोप लगाइन् । दलित समुदायको मत प्राप्त गर्न राजनीतिक दलहरूले टिकट दिए पनि निर्वाचित भएपछि आफूहरूलाई हस्ताक्षर गर्ने भूमिकामा मात्र सीमित गरिने गरेको उनको भनाइ थियो ।
‘दलितको भोट लिनका लागि मात्रै पार्टीले दलित महिला सदस्यलाई टिकट दिन्छन ्। निर्वाचित भए पछि हस्ताक्षर गर्न मात्रै बोलाइन्छ । हामीलाई हस्ताक्षर गर्नका लागि मात्र मतदाताले भोट दिएका होइनन्,’ हरिजनले भनिन्, कार्यक्रममा सहभागी अन्य दलित महिला जनप्रतिनिधिहरूले पनि दलित समुदायका लागि बजेट तथा कार्यक्रम ल्याउन निकै संघर्ष गर्नुपरेको छ । सुरुमा आफूहरूलाई स्थानीय सरकारको काम, योजना निर्माण र बजेट प्रक्रियाबारे पर्याप्त जानकारी नभए पनि निर्वाचित भएपछि जनप्रतिनिधिहरूको राजनीतिक व्यवहार बुझ्दै जाँदा अधिकारका लागि आवाज उठाउनुपर्ने अवस्था आएको उनीहरूको भनाइ थियो ।
कतिपय जनप्रतिनिधिले आगामी निर्वाचनमा आफूहरू पनि थप जिम्मेवारीसहित उम्मेदवारी दिने विषयमा सोच्न थालेको बताइन । दलित महिला सदस्यहरूलाई राजनीतिक रूपमा कमजोर ठान्ने र उनीहरूको सुझावलाई बेवास्ता गर्ने प्रवृत्तिले आफूहरूलाई राजनीतिमा अझ सक्रिय हुन प्रेरित गरेको उनीहरूको भनाइ थियो । अन्तरक्रियामा सहभागी संविधानसभा सदस्य दुलारी हरिजनले स्थानीय तहमा दलित समुदायका लागि विनियोजन गरिएको बजेटसमेत लक्षित वर्गको हितमा खर्च नभएको विषय गम्भीर रहेको बताइन् । कतिपय स्थानीय तहले दलित समुदायका लागि छुट्याएको कार्यक्रमको रकम सडक निर्माणमा खर्च गरेको उदाहरण दिँदै उनले लक्षित बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् । दलित समुदायका लागि छुट्याइएको बजेट उनीहरूको आर्थिक, सामाजिक तथा शैक्षिक अवस्था सुधार गर्ने कार्यक्रममै खर्च हुनुपर्ने उनको धारणा थियो । बजेट विनियोजन मात्र पर्याप्त नभई त्यसको कार्यान्वयन, अनुगमन र उपलब्धिको मूल्याङ्कनसमेत आवश्यक रहेको उनले बताइन् ।
स्थानीय तहमा दलित महिला जनप्रतिनिधिको उपस्थिति संविधानले सुनिश्चित गरेको समावेशिताको महत्वपूर्ण उपलब्धि हो । तर, प्रतिनिधित्वलाई निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागितामा रूपान्तरण गर्न नसकिए यसको उद्देश्य पूरा हुन सक्दैन। जनप्रतिनिधि भएर पनि आफ्नो समुदायको आवाज सम्बन्धित निकायसम्म पु¥याउन संघर्ष गर्नुपर्ने अवस्थाले स्थानीय सरकारको समावेशी कार्यशैलीमाथि प्रश्न उठाएको छ । दलित महिला जनप्रतिनिधिहरूको गुनासोले स्थानीय तहमा बजेट निर्माण, योजना छनोट र कार्यक्रम कार्यान्वयन प्रक्रियालाई थप समावेशी तथा जवाफदेही बनाउनुपर्ने आवश्यकता देखाएको छ । दलित समुदायका लागि विनियोजित बजेट लक्षित वर्गकै आवश्यकता र प्राथमिकताका आधारमा खर्च गर्ने, निर्णय प्रक्रियामा दलित महिला सदस्यको सहभागिता सुनिश्चित गर्ने र उनीहरूका सुझावलाई कार्यान्वयन गर्ने व्यवस्था हुनुपर्ने उनीहरूको माग छ ।
उनीहरूको भनाइमा अब दलित महिला जनप्रतिनिधिलाई नाम र संख्यामा मात्र सीमित राखेर समावेशिताको उद्देश्य पूरा हुँदैन। अधिकार, स्रोत र निर्णय प्रक्रियामा समान सहभागिता सुनिश्चित भए मात्रै स्थानीय सरकारमा दलित समुदायको वास्तविक प्रतिनिधित्व स्थापित हुनेछ ।
