
नवलपरासी,२४ कातिक
सरकारी निकायले खेतमा पराल तथा अन्य कृषि अवशेष नजलाउन पटक–पटक आग्रह गर्दै आए पनि किसानले अटेर गर्दै खेतमै आगो लगाउने क्रम रोकिएको छैन । धान काटिसकेपछि हिउँदे बाली लगाउन खेत सफा गर्ने क्रममा किसानले पराल जलाउने गरेका छन् । यसले वायु प्रदूषण बढाउनुका साथै खेतको जैविक विविधतामा समेत नकारात्मक असर पारिरहेको छ ।
कृषकले खेतमा पराल जलाउँदा निस्कने धुवाँले वातावरण प्रदूषित बनाउने मात्र नभई माटोमा रहेका सूक्ष्म जीव तथा अन्य उपयोगी जीवजन्तुलाई समेत असर पु¥याउने गर्दछ । कृषि उत्पादनका लागि महत्त्वपूर्ण मानिने माटोको प्राकृतिक गुण र जैविक सन्तुलनमा समेत यसले दीर्घकालीन असर पार्न सक्ने भएकाले पराल व्यवस्थापनलाई वातावरणीय संरक्षणसँग जोडेर हेर्नुपर्ने आवश्यकता देखिएको छ । यता कृषक हकहित संरक्षण मञ्चका अध्यक्ष शम्भु उपाध्यायले किसानले पराल जलाउनुको पछाडि रहेको वास्तविक कारण पहिचान गर्न आवश्यक रहेको बताएका छन् । उनका अनुसार किसानको अटेरीका पछाडि अज्ञानता हो ? वा कुनै आक्रोश भन्ने विषय बुझ्न जरुरी छ । यदि जानकारीको अभावका कारण किसानले पराल जलाइरहेका हुन् भने स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले प्रभावकारी चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
यदि किसानको असन्तुष्टि वा आक्रोशका कारण यस्तो भइरहेको हो भने त्यसको कारण पनि बुझ्नुपर्ने उपाध्यायले बताए । धान काटेपछि हिउँदे बाली लगाउन खेत खाली गर्नुपर्ने किसानको बाध्यता रहेको उल्लेख गर्दै उनले पराल व्यवस्थापनको विकल्प नदिई पराल नजलाउन सूचना जारी गरेर मात्रै समस्या समाधान नहुने बताए । ‘धान काटेपछि हिउँदे बाली लगाउन खेत सफा गर्नुपर्छ । पराल व्यवस्थापन गर्दा किसानको लागत बढ्ने अवस्था छ, भने त्यसको विकल्प पनि सरकारले दिनुपर्छ,’ उनले भने । किसानलाई पराल नजलाउन आग्रह गर्नु सकारात्मक भए पनि त्यसका लागि आवश्यक प्रविधि, उपकरण र व्यावहारिक सुविधा उपलब्ध गराउनु पनि सरकारको दायित्व भएको उनको धारणा छ । अहिले पराल संकलन तथा व्यवस्थापनका लागि विभिन्न मेसिन र उपकरण उपलब्ध हुन थालेका छन् । यस्ता उपकरण किसानको पहुँचमा पु¥याउन सके पराललाई खेतमै जलाउनुको सट्टा संकलन, पुनः प्रयोग तथा अन्य उपयोगमा ल्याउन सकिने सम्भावना छ । त्यसका लागि स्थानीय तह र कृषि ज्ञान केन्द्रले किसानलाई प्रविधिबारे जानकारी दिनुका साथै आवश्यक सहजीकरण गर्नुपर्ने देखिन्छ ।
किसानलाई वातावरण संरक्षणको जिम्मेवारीबारे सचेत गराउनु जति आवश्यक छ, उनीहरूले भोगिरहेका व्यावहारिक समस्यालाई सम्बोधन गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । पराल नजलाउने सरकारी आग्रहलाई व्यवहारमा कार्यान्वयन गर्न किसानको आर्थिक अवस्था, खेतको प्रकृति, हिउँदे बाली लगाउने समय र पराल व्यवस्थापनको लागतलाई समेत ध्यान दिनुपर्ने सरोकारवालाको धारणा छ । पराल जलाउने प्रवृत्ति नियन्त्रण गर्न चेतना, प्रविधि र विकल्पलाई एकसाथ अघि बढाउन सके मात्रै यसको दीर्घकालीन समाधान सम्भव देखिन्छ ।

