
नवलपरासी,२४ कातिक
जिल्लाको सदरमुकाम परासी देखी प्राचीन नन्दन ताल जाने सडक अन्तर्गत रावनखण्डा खोलामा रहेको पुलमा रेलिङ नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । रामग्राम नगरपालिका–१५ जमुनिया र पाल्हीनन्दन गाउँपालिका–६ सनइको सिमानामा पर्ने उक्त पुल साँघुरो हुनुका साथै दुवैतर्फ सुरक्षाका लागि रेलिङसमेत नहुँदा आवतजावत गर्ने सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
स्थानीयका अनुसार पुलको दुवैतर्फ रेलिङ नहुँदा विशेषगरी रातिको समयमा र अपरिचित यात्रुहरूलाई आवतजावत गर्न निकै कठिन हुने गरेको छ । पुलको बनावट साँघुरो भएकाले दुईवटा सवारीसाधन एकैपटक ओहोरदोहोर गर्नसमेत समस्या हुने गरेको छ । यस्तो अवस्थामा सामान्य सावधानी अपनाउन नसक्दा जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने स्थानीयको चिन्ता छ । पुलबाट चिप्लिएर खोलामा खस्ने घटनासमेत भइसकेको स्थानीय ओमपथ चौधरीले बताए । दर्जनौँ मानिस झुक्किएर पुलमुनि खस्ने घटना भएको दाबी गर्दै एक स्थानीयले पुलमा रेलिङ नहुँदाको अवस्था देखाउँदै भने, “पुलको दुवैतर्फ रेलिङ छैन । यहाँबाट खसेर मानिस घाइते हुने अवस्था छ । काम गर्ने र काम गराउने सबै मेसिन हुन् कि मानिस हुन ? यति सामान्य कुरा पनि बुझ्दैनन ?”
स्थानीयले सडक निर्माण तथा पूर्वाधार विकासका नाममा करोडौँ र लाखौँ रुपैयाँ बजेट खर्च हुने गरे पनि सर्वसाधारणको ज्यान जोगाउन आवश्यक पर्ने सामान्य संरचनामा समेत ध्यान नदिइएको गुनासो गरेका छन् । सडक निर्माण गर्दा पुलको सुरक्षालाई प्राथमिकता दिनुपर्ने भए पनि रेलिङजस्तो आधारभूत संरचना निर्माणमा बेवास्ता गरिएको उनीहरूको आरोप छ । “करोडौँ र लाखौँ रुपैयाँका सडक बनाउँदा १०–१६ हजार रुपैयाँ खर्च हुने रेलिङको बजेट किन समावेश गरिँदैन? विकास भनेको यस्तै हो?” स्थानीयले प्रश्न गर्दै भने । सरकारले सडकका लागि बजेट विनियोजन गर्ने, इन्जिनियरले डिजाइन तयार गर्ने र ठेकेदारले निर्माणको जिम्मेवारी लिने भए पनि निर्माणका क्रममा सामान्य मानवीय संवेदनासमेत ख्याल नगरिएको स्थानीयको भनाइ छ । उनीहरूका अनुसार सडक तथा पुल निर्माण गर्दा प्राविधिक मापदण्डसँगै सर्वसाधारणको सुरक्षा र सम्भावित जोखिमलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ ।
उक्त सडक जनप्रतिनिधिहरूको समेत दैनिक आवतजावत हुने मार्ग भए पनि पुलको जोखिमपूर्ण अवस्था प्रति सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको आरोप छ । जनप्रतिनिधिहरू यही बाटो भएर दिनहुँ ओहोरदोहोर गर्ने गरे पनि समस्या समाधानका लागि पहल नगर्नु दुःखद भएको उनीहरूको भनाइ छ । प्राचीन नन्दन ताल ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको स्थल भएकाले त्यहाँ पुग्ने सडक सुरक्षित र व्यवस्थित हुनुपर्ने स्थानीयको माग छ । पर्यटकीय सम्भावना बोकेको स्थलसम्म पुग्ने सडककै पुल असुरक्षित रहनुले स्थानीय बासिन्दासँगै बाहिरबाट आउने पर्यटक तथा आगन्तुकसमेत जोखिममा पर्ने अवस्था रहेको उनीहरू बताउँछन् । स्थानीयले सम्बन्धित वडा कार्यालय, रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका तथा सडक निर्माणसँग सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै पुलमा तत्काल रेलिङ निर्माण गर्न माग गरेका छन्। साथै पुलको साँघुरोपन र अन्य प्राविधिक अवस्थाको समेत निरीक्षण गरी आवश्यक सुधार गर्नुपर्ने उनीहरूको माग छ । सम्भावित दुर्घटना भएपछि मात्रै मर्मत तथा सुधारमा जुट्ने प्रवृत्तिको अन्त्य गर्दै समयमै सुरक्षाका उपाय अपनाउनुपर्ने स्थानीयको जोड छ । सर्वसाधारणको ज्यानसँग जोडिएको विषय भएकाले सम्बन्धित निकायले यसलाई सामान्य पूर्वाधारको समस्या नभई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिनुपर्ने देखिन्छ ।

