
नवलपरासी ८ कातिक
पाल्हीनन्दन गाउँपालिका–२ स्थित झरही खोलामा रहेको होचो पुल स्थानीयका लागि वर्षौंदेखि समस्या बनेको छ । खोलाको वरिपरि चार लेनको सडक निर्माण भए पनि पुल भने पुरानै र साँघुरो हुँदा ठूला तथा भारी सवारीसाधनको आवागमन प्रभावित हुँदै आएको छ। पुल निर्माण र स्तरोन्नतिको माग दशकौँदेखि उठ्दै आए पनि अहिलेसम्म पूरा हुन नसकेको स्थानीयले गुनासो गरेका हुन ।
स्थानीयका अनुसार पुलको उचाइ कम र चौडाइ साँघुरो हुँदा महेशपुर भन्सारबाट नेपाल भित्रिने तथा बाहिरिने ठूला मालवाहक सवारीसाधनलाई आवतजावत गर्न कठिनाइ हुने गरेको छ । पुल कै कारण ठूला सवारीसाधन महेशपुर भन्सार हुँदै आउन नसक्ने अवस्था रहेको उनीहरूको भनाइ छ । त्यसको विकल्पमा कतिपय सवारीसाधन सुनौली भन्सार नाका प्रयोग गर्न बाध्य हुने गरेका छन ्। भारतसँग जोडिएको महेशपुर भन्सारको व्यापारिक सम्भावना बढाउन सडक पूर्वाधार विस्तार गरिए पनि मुख्य अवरोधका रूपमा रहेको झरही खोलाको पुलको समस्या समाधान नहुँदा त्यसको प्रत्यक्ष असर व्यापार तथा यातायातमा परेको स्थानीय बताउँछन् ।
पुलले ठूला सवारीसाधनलाई मात्र अवरोध गरेको छैन, स्थानिय जितेन्द्र गुप्ताले भने, वर्षायाममा सर्वसाधारणको आवागमनसमेत प्रभावित हुने गरेको छ । खोलामा पानीको बहाव बढ्दा आवतजावत अवरुद्ध हुने र आसपासका क्षेत्रमा डुबानको समस्या देखिने गरेको स्थानीयको भनाइ छ । पुल होचो र साँघुरो हुँदा जोखिमपूर्ण अवस्था सिर्जना हुने गरेको तथा विगतमा पुलबाट मानिस र यात्रु बगाउने दुर्घटनासमेत भएका स्थानीयले बताएका छन् । स्थानीयका अनुसार पुलको अवस्था परिवर्तन गर्ने विषय चुनावका बेला राजनीतिक दल तथा उम्मेदवारको प्राथमिकतामा पर्ने गरेको छ । निर्वाचनका समयमा पुल निर्माण वा स्तरोन्नति गर्ने आश्वासन दिइए पनि निर्वाचनपछि काम अघि नबढेको उनीहरूको गुनासो छ ।
पुल निर्माणकालदेखि नै यस क्षेत्रबाट विभिन्न सांसद निर्वाचित भए । देवेन्द्रराज कण्डेल, विक्रम खनाल र ध्रुवबहादुर प्रधानलगायतका सांसदले यस क्षेत्रको प्रतिनिधित्व गरिसकेका छन् । तर, पुलको समस्या भने जस्ताको तस्तै रहेको स्थानीयको भनाइ छ । जनप्रतिनिधि फेरिए पनि पुलको अवस्था नफेरिँदा स्थानीय निराश बनेका छन् । अहिले यस क्षेत्रबाट नरेन्द्रकुमार गुप्ता प्रतिनिधित्व गरिरहेका छन् । उनले पनि आगामी दुई–तीन वर्षभित्र पुल फेरिने आश्वासन स्थानीयलाई दिएको बताइएको छ । तर, विगतमा पनि पटकपटक आश्वासन पाएकाले यसपटक काम हुनेमा स्थानीयले प्रतीक्षा गरिरहेका छन् ।
स्थानिय जितेन्द्र गुप्ताले पुलको समस्या लामो समयदेखि समाधान हुन नसकेको बताए । उनका अनुसार प्रत्येक निर्वाचनमा पुल निर्माणको विषय उठ्ने गरे पनि स्थानीयले आश्वासन मात्रै पाउँदै आएका छन् । “सांसद फेरिँदै गए, तर पुलको अवस्था फेरिएन,” उनले भने, “अहिले पनि दुई–तीन वर्षमा पुल फेरिने आश्वासन पाएका छौँ । अब त्यो आश्वासन पूरा हुने हो कि होइन भन्ने प्रतीक्षामा छौँ।” स्थानीयले झरही खोलामा आधुनिक, फराकिलो र सुरक्षित पुल निर्माण गर्न माग गर्दै आएका छन् ।
उनीहरूका अनुसार पुल निर्माण भए महेशपुर भन्सारबाट हुने मालसामानको ढुवानी सहज हुनुका साथै व्यापारिक गतिविधि विस्तार गर्न सहयोग पुग्नेछ । साथै, वर्षायाममा हुने आवागमन अवरोध, डुबान र दुर्घटनाको जोखिमसमेत कम गर्न सकिने अपेक्षा गरिएको छ । चार लेनको सडकसँग मेल खाने गरी पुल निर्माण तथा स्तरोन्नति गर्न सके महेशपुर भन्सारको उपयोगिता बढ्ने र स्थानीय बासिन्दाले लामो समयदेखि भोग्दै आएको समस्या समाधान हुने स्थानीयको अपेक्षा छ। अब सम्बन्धित निकायले आश्वासनमा सीमित नराखी पुल निर्माणको ठोस योजना, बजेट र समयसीमा सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ ।

