
नवलपरासी,८ कातिक
नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर भन्सार कार्यालयको मुख्य गेट अगाडि ढल निकासको उचित व्यवस्थापन नहुँदा फोहोर पानी जमेर दुर्गन्ध फैलिएको छ । ढल निकासको मर्मत तथा सरसफाइ नहुँदा भन्सार कार्यालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी तथा आवतजावत गर्ने यात्रुले सास्ती खेप्नु परेको छ ।
“आतिथी देवो भव” मान्यता राख्ने नेपालीले भन्सार कार्यालय पुग्ने भारतिय पर्यटक,ब्यवसायिहरु पनि बाहिरी अतिथी जस्तै हुन,तर ति आतिथीको स्वागत दुर्गन्धित वातावरणले गरिनु दुखद भएको स्थानिय जितेन्द्र गुप्ताले बताए । यस्मा सरकारी निकाय र महेशपुर बजारबासी चुकेकै छन्, उनले भने,ढल निकासको ब्यवस्थापन हुदै जाला तर तत्कालको दुर्गन्धित वातावरणलाई ब्यवस्थापन गरिनु भन्सार कार्यालयको पनि दायित्व हो । यसमा पाल्ह्ीनन्दन गाउपालिकाले समेत ध्यान दिनु पर्ने उनले औल्याएका थिए ।
नेपाल सरकारको अर्थ मन्त्रालयअन्तर्गत रहेको महेशपुर भन्सार कार्यालयको मुख्य प्रवेशद्वार मै लामो समय देखि फोहोर पानी जम्दै आए पनि समस्या समाधान हुन सकेको छैन । भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायका अनुसार कार्यालय अगाडि करिब एक वर्षदेखि ढल निकासको फोहोर पानी जमि रहेको छ । नेपाल र भारतबीचको व्यापारिक आवागमन तथा मालसामानको भन्सार जाँचपास हुने प्रमुख नाकाका रूपमा रहेको महेशपुर भन्सारको मुख्य गेटमै यस्तो समस्या देखिँदा कार्यालयको वातावरण समेत दुर्गन्धित बनेको छ । सडक तथा बस्तीबाट निस्कने फोहोर पानीको उचित निकास नहुँदा समस्या बढेको हो । भन्सार प्रमुख उपाध्यायले भन्सार कार्यालयमा आएदेखि नै ढल निकासको फोहोर पानी जम्ने समस्या देख्दै आएको बताए। कार्यालयको मर्मत तथा सरसफाइका लागि पर्याप्त बजेट नहुँदा समस्या समाधान गर्न नसकिएको उनको भनाइ छ ।
फोहोर पानी जम्ने स्थानमा लामखुट्टेको प्रकोपसमेत देखिएको छ । बिहान र दिउँसोको तुलनामा रातिको समयमा लामखुट्टेको समस्या बढी हुने भएकाले ड्युटीमा खटिने सुरक्षाकर्मी प्रभावित हुँदै आएका छन्। यसले कर्मचारी तथा सुरक्षाकर्मीको कार्य वातावरणमा समेत असर पारेको छ । अझ वर्षा नभएको समयमा समेत भन्सार अगाडिको चेकपोस्ट हिलाम्मे र फोहोर देखिने गरेको छ । वर्षायाममा पानीको निकास झन् अवरुद्ध हुँदा अवस्था थप जटिल बन्न सक्ने चिन्ता छ । वार्षिक करोडौँ रुपैयाँ राजस्व सङ्कलन गर्ने महत्त्वपूर्ण भन्सार कार्यालयको मुख्य प्रवेशद्वारमै यस्तो समस्या रहनुले सरसफाइ तथा पूर्वाधार व्यवस्थापनमाथि प्रश्न उठाएको छ । समस्या समाधानका लागि सम्बन्धित निकायले ढल निकासको मर्मत, नियमित सरसफाइ र पानी जम्ने समस्याको दीर्घकालीन समाधानमा ध्यान दिन आवश्यक देखिएको छ ।

