बेपत्ता पारिएकाहरूको सम्झनामा परासीमा दीप प्रज्वलन

नवलपरासी, भदौ १४ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा आइतबार परासीमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गरिएको छ।

एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–३१, परासीको आयोजनामा परासीस्थित बुद्ध चोकमा दीप प्रज्वलन गर्दै बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस–२०८३ मनाइएको हो।

कार्यक्रममा उद्योग वाणिज्य संघ नवलपरासीका वरिष्ठ उपाध्यक्ष एवं प्रमुख अतिथि राजेश गुप्ताले सशस्त्र द्वन्द्वका क्रममा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवारले वर्षौँदेखि आफ्ना आफन्तको अवस्था र सत्यबारे जवाफ खोजिरहेको बताए। उनले हालै रसुवामा आएको बाढीपहिरोमा बेपत्ता तथा ज्यान गुमाएका परिवारको पीडाप्रति पनि राज्य संवेदनशील हुनुपर्ने बताए।

राज्यले बेपत्ता भएका व्यक्तिको अवस्था र घटनाबारे सम्बन्धित परिवारलाई जानकारी दिनुपर्नेमा जोड दिँदै गुप्ताले परिवारले आफ्ना आफन्त कहाँ छन् र कुन अवस्थामा छन् भन्ने जान्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताए।

कार्यक्रममा एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–३१, परासीका सचिवले नेपालमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्थाबारे तथ्याङ्क प्रस्तुत गरे। उनका अनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा ३ हजारभन्दा बढी उजुरी परेको र आयोगले २ हजार ५ सय ६ जना बेपत्ता व्यक्तिको अभिलेख सार्वजनिक गरेको छ।

नेपाल रेडक्रसले तयार पारेको अभिलेखमा अझै १ हजार ३ सयदेखि १ हजार ३ सय ५० जना सम्पर्कविहीन रहेको जानकारी दिँदै उनले लुम्बिनी प्रदेश पनि द्वन्द्वबाट प्रभावित क्षेत्र रहेको बताए।

उपलब्ध अभिलेखअनुसार बर्दियामा २ सय ५४, दाङमा १ सय २८, रोल्पामा ४५ र रुकुममा ९७ जना बेपत्ता पारिएका घटनाहरू अभिलेखित रहेको उनले बताए। त्यस्तै, नवलपरासी पूर्व र पश्चिममा गरी करिब २५ देखि ३० वटा द्वन्द्वकालीन बेपत्ताका घटना अभिलेखमा रहेको जानकारी दिए।

कार्यक्रममा एम्नेष्टी इन्टरनेसनल नेपालका पूर्व संयोजक तथा जलवायु परिवर्तन अभियन्ता विजय कुमार जयसवालले प्रस्तुत तथ्याङ्कले द्वन्द्वकालीन बेपत्ताको गम्भीरता देखाउने बताए। उनले बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको विषयलाई विगतको घटनाका रूपमा मात्र नहेरी मानवअधिकार, परिवारको अधिकार र राज्यको जवाफदेहितासँग जोडेर निरन्तर उठाउनुपर्नेमा जोड दिए।

जयसवालले पछिल्लो समय जलवायु परिवर्तनका कारण बाढी, पहिरो तथा अन्य विपद्का घटना बढ्दै गएको उल्लेख गर्दै समुदायस्तरमै जलवायु परिवर्तन तथा विपद् जोखिमसम्बन्धी शिक्षा र सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए। समुदायलाई जोखिम, पूर्वसूचना, सुरक्षित व्यवहार तथा विपद्को समयमा अपनाउनुपर्ने उपायबारे शिक्षित बनाउन सके मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

कार्यक्रममा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा मौनधारण तथा स्मृति दीप प्रज्वलन गरिएको थियो। साथै, हालै रसुवामा आएको बाढीपहिरोका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको थियो। विपद्का समयमा सबै समुदायबीच मानवीय संवेदना, सामाजिक सद्भाव र आपसी एकता कायम गर्नुपर्नेमा समेत जोड दिइएको थियो।

कार्यक्रमको अध्यक्षता एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–३१, परासीका संयोजक राजु देवानले गरेका थिए।

कार्यक्रममा एम्नेष्टी इन्टरनेसनल नेपालका पूर्व संयोजक विजय कुमार जयसवाल, सहसंयोजक रञ्जी कुमार लोहार, अर्जुन क्षेत्री, रामजी ज्ञवाली, जेसी बबिता जयसवाल, विष्णु राव, राजेश यादव, राधेश्याम सिंह सैथवार लगायतको उपस्थिति थियो।

समाचार: सुकरात गौड, कोलियखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *