१५०१औँ मोहम्मद जयन्तीको अवसरमा रक्तदान

सुकरात गौड

नवलपरासी, भदौ ९ । १५०१औँ मोहम्मद जयन्तीको अवसरमा आयोजित साप्ताहिक कार्यक्रमअन्तर्गत नवलपरासीको प्रतापपुर गाउँपालिका–६, हरपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मदरसा प्रवर्द्धन सामाजिक केन्द्रको आयोजनामा तथा मदरसा मदिनतुल ओलुम माध्यमिक विद्यालय, प्रतापपुर–६, हरपुरको सहकार्यमा मंगलबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा १२ युनिट रगत संकलन गरिएको हो।

‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा प्रतापपुर गाउँपालिका–६ का वडा अध्यक्ष केशव प्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नवलपरासीको प्राविधिक टोलीका श्रावण कुमार गुप्ता र अमर दिप गुप्तासहित समाजसेवी, रक्तदाता, नेपाल प्रहरीका प्रतिनिधि, संस्थाका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको सहभागिता रहेको थियो।

रक्तदान कार्यक्रमले आकस्मिक तथा आवश्यक अवस्थामा बिरामीका लागि रगत उपलब्ध गराउन सहयोग पुग्ने आयोजकले जनाएको छ। १५०१औँ मोहम्मद जयन्तीलाई लक्षित गरी सञ्चालन भइरहेको साप्ताहिक कार्यक्रमलाई धार्मिक गतिविधिसँगै मानवीय सेवा, सामाजिक उत्तरदायित्व र सद्भावसँग जोड्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।

इस्लामी शिक्षामा मानव जीवनको संरक्षणलाई विशेष महत्व दिइएको छ। कुरआनको सूरह अल–माइदहको आयत ५:३२ मा एक व्यक्तिको जीवन बचाउनु सम्पूर्ण मानवजातिको जीवन बचाएसरह हुने सन्देश दिइएको छ। यही मानवीय भावनासँग रक्तदानलाई जोड्दै आयोजकले मोहम्मद जयन्तीको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ। पैगम्बर मोहम्मदको शिक्षामा पनि दया, करुणा, परोपकार र आवश्यक परेका व्यक्तिलाई सहयोग गर्ने भावनालाई महत्वपूर्ण मानिन्छ। त्यसैले रक्तदानलाई धार्मिक आस्थासँगै मानव सेवाको व्यवहारिक उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।

कार्यक्रममा रक्तदान गर्ने सम्पूर्ण रक्तदाता तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी नवलपरासीको प्राविधिक टोली, मदरसा मदिनतुल ओलुम माध्यमिक विद्यालय परिवार, नेपाल प्रहरी प्रतिनिधि, समाजसेवी तथा सम्पूर्ण सहयोगीहरूलाई आयोजकले धन्यवाद तथा आभार व्यक्त गरेको छ।

ईद मिलादुन्नबी तथा १५०१औँ मोहम्मद जयन्तीको अवसरमा आयोजित यस मानवीय सेवामूलक कार्यक्रमले समुदायमा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै मानवता, सामाजिक सहयोग र आपसी सद्भावको भावना बलियो बनाउन योगदान पुर्‍याएको अध्यक्ष हैदर अली मोमिनले जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *