१५०१औँ मोहम्मद जयन्ती शान्तिपूर्ण बनाउन प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलको प्रतिबद्धता

सुकरात गौड | कोलियखबर

नवलपरासी, भदौ ५ । नवलपरासीमा १५०१औँ मोहम्मद जयन्तीलाई शान्तिपूर्ण, व्यवस्थित तथा सामाजिक सद्भाव कायम हुने गरी सम्पन्न गर्न प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल तथा धार्मिक अगुवाहरूले प्रतिबद्धता जनाएका छन्।

शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासीको सभाहलमा प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको संयोजकत्वमा बसेको जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति बैठकमा जिल्लाको शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम गर्ने विषयमा छलफल भएको हो। बैठकमा जिल्ला समन्वय समिति प्रमुख भगौती यादवको विशेष उपस्थिति रहेको थियो।

बैठकमा मदरसा प्रवर्द्धन सामाजिक केन्द्र, रामग्राम–८, उनवचका अध्यक्ष हैदर अली मोमिनले मोहम्मद जयन्तीका अवसरमा सञ्चालन गरिने विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रमको कार्यतालिका प्रस्तुत गरेका थिए। प्रस्तावित कार्यक्रमअनुसार बृहत् बैठक, जिल्ला प्रशासन, सर्वधर्म प्रतिनिधि तथा सुरक्षा निकायसँग छलफल, जिल्लाभर जनचेतनामूलक माइकिङ, सरसफाइ तथा वृक्षरोपण, स्थानीय सरकारसँग समन्वय तथा प्रसाद वितरणलगायतका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

त्यस्तै हरपुर मदरसामा रक्तदान कार्यक्रम, बिरामीलाई फलफूल तथा दृष्टिविहीन व्यक्तिलाई कपडा र फलफूल वितरण गर्ने कार्यक्रमसमेत तय गरिएको छ। मुख्य जयन्तीका दिन मदरसाबाट शान्तिपूर्ण र्‍याली निकालिने तथा जिल्लाका विभिन्न पालिकामा समेत र्‍याली र धार्मिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ। जिल्लाभरका कार्यक्रमलाई समन्वय गर्न सातवटै पालिकामा समन्वय समिति गठन गरिएको जानकारी दिइएको छ।

ओल्मा फाउन्डेसन नेपालका केन्द्रीय अध्यक्ष सैयद गुलाम हुसेनले मोहम्मद जयन्तीका अवसरमा शान्तिपूर्ण र्‍याली तथा रक्तदान कार्यक्रम आयोजना गरिने जानकारी दिए। उनका अनुसार र्‍याली रेडक्रस कार्यालयबाट सुरु भई उद्योग वाणिज्य संघ हुँदै परासी बजार क्षेत्रको परिक्रमा गर्नेछ। साथै, जयन्तीको अवसरमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिने उनले बताए।

बैठकमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र यादवले र्‍यालीका क्रममा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रणका लागि प्रशासन र सुरक्षा निकाय सक्रिय हुनुपर्ने बताए। उनले कार्यक्रमलाई सफल बनाउन राजनीतिक दल तथा सम्बन्धित सबै पक्षले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

जनमोर्चाका प्रतिनिधिले कार्यक्रमको तयारी प्रशंसनीय रहेको बताउँदै सम्भावित असन्तुलनलाई समयमै पहिचान गरी सुधार गर्नुपर्ने धारणा राखे। उनले कार्यक्रमको उचित निगरानी र व्यवस्थापनमा ध्यान दिन आग्रह गर्दै कार्यक्रम सफलताको शुभकामना दिए।

जनमत पार्टीका वरिष्ठ उपाध्यक्षले मोहम्मद जयन्तीलाई मुस्लिम समुदायको मात्र धार्मिक कार्यक्रमका रूपमा नभई सामाजिक सद्भाव अभिवृद्धि गर्ने साझा अवसरका रूपमा लिनुपर्ने बताए। हिन्दू र मुस्लिम समुदायबीचको भाइचारा झल्किने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।

नेपाली कांग्रेसका जिल्ला उपसभापति अनिल गौडले कार्यक्रमको तयारी प्रशंसनीय रहेको बताउँदै संयमित र सचेत भएर कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे। प्रशासन, राजनीतिक दल तथा प्रहरीबीच आवश्यक समन्वय र सहयोग रहने वातावरण बनाइएकोमा उनले सकारात्मक प्रतिक्रिया दिए।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश चौधरीले नवलपरासीमा हालसम्म अप्रिय घटना नभएको उल्लेख गर्दै आगामी दिनमा पनि शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्ष सचेत हुनुपर्ने बताए। उनले विगतमा विभिन्न आन्दोलन तथा र्‍यालीका क्रममा अफवाह वा द्वन्द्व फैलाउने प्रयास हुने गरेको उल्लेख गर्दै त्यस्ता गतिविधि दोहोरिन नदिन आयोजक र सुरक्षा निकाय दुवै सक्रिय हुनुपर्ने बताए। साथै मदरसा तथा अजानका क्रममा ध्वनि व्यवस्थापनमा समेत ध्यान दिन उनले आग्रह गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति रबि पाण्डेले धार्मिक कार्यक्रमका क्रममा ध्वनि व्यवस्थापनको विषय हिन्दू र मुस्लिम दुवै समुदायसँग सम्बन्धित रहेको बताए। उनले धार्मिक कार्यक्रमका कारण विद्यार्थीको अध्ययन तथा परीक्षामा पर्न सक्ने असरलाई समेत ध्यान दिनुपर्ने धारणा राखे।

पाण्डेले मोहम्मद जयन्तीका अवसरमा आयोजना हुने रक्तदान कार्यक्रमलाई सकारात्मक कार्यका रूपमा उल्लेख गर्दै धर्मभन्दा माथि उठेर सबै समुदायको सहभागिता हुनुपर्ने बताए। उनले हिन्दू समुदायका पर्वमा मुस्लिम समुदायको सहभागिता रहने गरेको उदाहरण दिँदै सामाजिक सद्भावलाई व्यवहारमै कायम गर्नुपर्ने बताए। वृक्षरोपण कार्यक्रमको प्रशंसा गर्दै उनले वातावरणले धर्म नछुट्याउने भएकाले यस्ता सामाजिक कार्यमा सबै समुदायको सहभागिता आवश्यक रहेको बताए।

नेपाल प्रहरीका एसएसपीले समाज निर्माणमा आयोजक र समुदायको आफ्नै महत्वपूर्ण भूमिका हुने बताए। आयोजकले कार्यक्रमका क्रममा के गर्ने र के नगर्ने भन्ने विषयमा स्पष्ट योजना बनाएर सुरक्षा निकायलाई जानकारी गराउनुपर्ने उनको भनाइ थियो। आयोजक जिम्मेवार र सबै पक्ष सचेत भए कार्यक्रम सफल बनाउन सहज हुने उनले बताए।

जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्ष स्वयं सचेत हुनुपर्ने बताए। उनले तय गरिएको कार्यतालिका प्रभावकारी रूपमा कार्यान्वयन भए–नभएको अनुगमन गर्नुपर्नेमा जोड दिए। कार्यक्रमकै क्रममा समूहगत गतिविधि वा गलत सूचना फैलिँदा सुरक्षा निकायलाई समेत भ्रममा पार्न सक्ने भएकाले सूचना र गतिविधिप्रति सबै सचेत हुनुपर्ने उनको भनाइ थियो।

नेपाल सबैको साझा देश भएको उल्लेख गर्दै यादवले धर्म वा समुदायका आधारमा विभेद नगरी मानवतालाई प्राथमिकता दिनुपर्ने बताए। नवलपरासीमा हालसम्म अप्रिय घटना नभएको उल्लेख गर्दै आगामी दिनमा पनि जिल्लामा शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले मोहम्मद जयन्तीका कार्यक्रमबारे सम्बन्धित निकायलाई पूर्वजानकारी गराई आवश्यक समन्वय गर्न आग्रह गरे। उनले सबै संघसंस्था तथा सरोकारवालालाई सक्रिय सहभागिता जनाउँदै जिल्लामा सामाजिक सद्भाव कायम गर्न सहयोग गर्न अनुरोध गरे। जिल्ला तहका संस्थाहरूले आफ्नो मातहतका उपसमिति तथा वडा तहसम्म सामाजिक सद्भाव कायम गर्ने सन्देश पुर्‍याउनुपर्ने उनको भनाइ थियो।

बैठकमा सहभागी धार्मिक गुरु, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सरकारी निकायका अधिकारीहरूलाई मुस्लिम अगुवा हैदर अली मोमिन र सैयद गुलाम हुसेनले खजुर वितरण गरेका थिए। मोमिनका अनुसार पैगम्बर मोहम्मदलाई खजुर प्रिय फल भएकाले मोहम्मद जयन्तीको अवसरमा आपसी सद्भाव र शुभेच्छा आदानप्रदानस्वरूप सहभागीहरूलाई खजुर वितरण गरिएको हो।

बैठकमा सहभागीहरूले मोहम्मद जयन्तीलाई धार्मिक सहिष्णुता, आपसी भाइचारा र सामाजिक सद्भाव अभिवृद्धि गर्ने अवसरका रूपमा उपयोग गर्दै शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *