
नवलपरासी, १७ साउन
जिल्लाका मत्यस्य कृषक एकातिर आफ्नै प्रयासमा देश भित्र माछा आपुर्ति गर्न सक्ने गरि प्रयासमा छन् । यता सरकारी निकायबाट सहयोग गुर्न भन्दा असहयोग गर्ने प्रवृति कायम हुदा मत्स्यपालक किसानलाई चुनौती थपिदै गएको बताएका छन । जुन बेला नेपाली किसानको पोखरीमा माछा तयार हुन्छ,त्यही बेला सरकारले भारतिय माछा आयातलाई खुल्ला गरिदिन्छ, यस्तो गुनासो थियो,नेपाल मत्स्य पालक किसान संघका केन्द्रिय कोषाध्यक्ष भवानीशंकर यादवको ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीका प्रमुख समेत रहेका मत्स्य निर्देक दिपक भुसालसँग गुनासो गर्दै यादवले गुनासो राख्दै प्रश्न गरे, के सरकारको नीयती नै बनेको छ,देश भित्रका किसान ब्यवसायीलाई निरुत्साही बनाउने ? यसलाई रोक्नका लागि पहल गरिदिन पर्यो, उनले निर्देशक भुसालसँग आग्रह गर्दै भने, कम्तीमा नेपाली मत्स्यपालक किसानको पोखरीमा माछा तयार भएको बेला आयात कम गराईदिन पर्यो । यस्ले नेपाली माछा उत्पादकको धेरै नाफा नभए पनि नोक्सानी ब्यहोर्न नपरोस । भारतमा किसानलाई ब्यापक मात्रामा अनुदान सरकारले उपलब्ध गराउदै आएको छ,उनले थपे,नेपाली किसानले भारतियसँग कहिलै प्रतिस्पर्धा गर्न सक्दैनन् ।
उनका अनुसार अहिले नेपालमा भारतबाट माछा आयातका लागि भन्सार खुल्ला भएको छ । भारतिय माछा प्रति केजी १ सय रुपिया भारुमा आई पुग्छ,जुन त्यो भन्दा बढि नेपालका किसानले दाना खुवाउदै पालेका माछाको लागत नै पर्छ । अभावका बेला भारतिय माछा पनि आउदैन,तर जब जब नेपाली किसानका माछा तयार हुन्छन्,त्यही बेला भारतिय माछाको आयात खोलिन्छ । भन्सार खुल्ला गरि दिदा थोरैमात्रामा भन्सार गरि बैधता लिन्छन्,त्यसैको आडमा सयौ गुना तस्करी गरि माछा नेपाल भित्रिने गरेको उनको आरोप थियो । आफ्नै गाँउमा आफ्नै आँखा अगाडी प्रहरीकै सामन्ने तस्करहरु माछा लग्ने गरेको दृष्टान्त सुनाउदै उनले भने, सरकारी नीति र नियतीमा जनताले फरक महशुस यसरी नै गर्ने गरेका छन् ।
केही दिन पहिला उनले नेपाल कै पहिलो पँगास(बैखी)माछाका भुरा निकाल्न ह््याचरी निर्माण गरेर सफल भएका छन् । सो भुरालाई विस्तार गर्दै धेरै भन्दा धेरै युवाहरुलाई स्वदेशमै सो माछा उत्पादन गर्न लगाउन भन्दा तस्करी प्रोत्साहन गरिदिदा युवाहरु विदेश जाने बाध्यता छ । नवलपरासीको प्रतापपुर २ स्थित एक कृषि अनुसंधान कम्पनीले शुरु गरे पछि जिल्ला स्थित सरोकारावाला कार्यालयले अनुगमन गरेको थियो । ह्याचरी सफल भएको छ, यादवले भने, जिल्लामै ३२ किलोमिटर नेपाल गण्डक पश्चिमी नहर छ । नहरमा नारायणी हिम नदीबाट आउने पानी हो । सो नहर वरिपरिका किसानलाई मत्स्यपालन तर्फ प्रोत्साहीत गर्न सक्यो भने, हजारौ हेक्टरमा माछापालन हुन सक्छ,गण्डकको माछा भनेर ब्राण्डिगँ पनि हुन सक्छ,तर त्यस तर्फ सरकारी ध्यान नभएको उनको दुखेसो थियो । नेपालमा बैखी माछाको बजारको सम्भावना राम्रो रहेको छ । कार्प जातीको तुलनामा पंगास माछाको उत्पादन सोही क्षेत्रफलमा दश गुना बढि हुने गरेको कार्यालय मत्स्य निदेशक भुसालले बताए । यसका लागि आयोजना नै सञ्चालन गर्न सक्ने गरि संघिय सरकारले प्रवद्र्धन गर्नु पर्ने बताएका थिए । उनले कृषको समस्या सुन्दै तत्कालि विभागका महाप्रवन्धक र संघिय मन्त्रालयका अधिकारीहरुलाई पनि अहिले नेपाली किसानाको पोखरीमा माछा तयारी हालतमा छन् । कम्तीमा तिन,चार महिनासम्म भारतिय माछा आयातमा रोक्न पहल गरिदिनका लागि आग्रह समेत गरेका थिए । तस्करी नियन्त्रण गर्न पनि कडाई गरिदिन उनले सरोकारवाला कार्यालयमा सम्पर्क गर्दै आश्वास्त पारेका थिए ।
ए.के.एक्वा रिसर्च ह्याचरी प्रालि प्रतापपुर २ ले बैखी माछाको ह्याचरी निर्माण गरि भुरा निकाल्ने कार्य सफलताले नेपालकै ठूलो सफलता मान्नु पर्ने बताउदै निर्देशक भुसालले यस्को स्वामित्व सरकार र योजना आयोगले समेत लिई संरक्षण,विकास र विस्तार गरिनु पर्ने सुनाए । अहिलेसम्म नेपालमा माछा पालन गर्ने किसानहरु बैखी माछाको भुरा भारत लगायत अन्य मुलुकबाट मगाउदै पालन गर्दै आएको थिए । अब ह्याचरी निर्माण गरि बैखी माछाको भुरा नेपालमै तयार हुन थालेका छन् । विगत डेढ दशक देखी कार्प जातीका माछापालन गर्दै आएका यादवले पछिल्लो तिन बर्ष देखी बैखी माछापालन तर्फ लागेका थिए । तिन बर्षसम्म बैखी माछाबाट मनग्य आमदनी गर्न सक्ने सम्भावना देखेर नै उनी अहिले अन्य मुलुकबाट भुरा मगाउदा केही झन्झटिलो हुने,उन्नत प्रजाती भन्दा केही कमसल हुने,खोजेको बेला उपलब्ध नहुने जस्ता समस्या देखेर अहिले आफ्नै फर्ममा २५ लाख लगानी गरि ह्याचरी निर्माण गराई रहेको सुनाएका थिए । नेपालमा प्रति सिजन ३ करोड देखी ५ करोड भुरा माग हुने गरेको छ ।
नेपालमा हालको उत्पादिन बैखी माछाले नेपालको बजार धान्न गाह्रो छ । भारतको आन्द्र प्रदेशबाट नै उत्पादित भएर आउने बैखी माछाको नेपालमा बजार छ । भारतबाट आउने अधिकाँस पंगास(बैखी) माछा नै हुन,जुन ठूल्ठूला होटल देखी शहरी क्षेत्रका उपभोतmाका भान्सामा पुग्छ । उनका अनुसार विराटनगर नाकाबाट मात्रै दैनिक १५ मे.ट.माछा नेपाल भित्रिन्छ,विरगँज नाकाबाट पनि १० मे.ट.माछा आउछ, सोनौली नाकाबाट पनि २० मे.ट.सम्म माछा आउने गरेको अनुमान संघले गरेको छ । नेपालगँज नाकाबाट पनि १० मे.ट.माछा नेपाल भित्रिन्छन् । ति अधिकाँस माछा भारत आन्द्र प्रदेशबाटै आउने बैखी माछा हुने गरेको उनको भनाई थियो । यसरी दैनिक ५५ मे.ट.माछा नेपालमा भारतबाटै आउने गरेको छ । त्यसलाई नै आधार बनाई नेपालमा सम्भाब्यता अध्ययन गरेर माछापालक किसानलाई प्रोत्साहन गर्न सकेमा माछा आयातले बढने ब्यपारघाटा मात्रै प्रतिस्थापन हुदैन,हजारौ युवा किसानले स्वदेश मै रोजगारी र स्वरोजगार हुन सक्छन् ।
