
नवलपरासी,६ साउन
भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था नवलपरासी (सिटिजन जुरी) नवलपरासीले रामग्राम नगर भित्रका विभिन्न स्थानमा अनुगमन शुरु गरेको छ । सो क्षेत्रका नागरिकले गरेको गुनासोको आधारमा अनुगमन शुरु गरेको हो ।
अख्तियार दुरुपयोग अनुसंधान आयोगको समन्वयमा जिल्लामा गरिठ उतm सिटिजन जुरीले जनताको गुनासो आए पछि सम्बन्धित स्थानमा पुगेर स्थलगत अवलोकन गर्ने र सम्बन्धि कार्यालय तथा अख्त्यिारको कार्यालयमा प्रतिवेदन पठाउन थाले पछि अहिले गुनासो पनि बढन थालेको जुरीले जानकारी गराएको थियो । संस्थाका अनुसार नगरपालिका–१०, मन्झरिया स्थित मन्झरिया स्वास्थ्य चौकी र रामग्राम ३ घोलपालीमा बनेको सडकमा अनियमितताबारे अनुमन गरेको थियो । ति स्थानमा अनुगमन गर्दै गर्दा कर्मचारीको नियमित उपस्थिति देखि औषधि उपलब्धतासम्मका विषयमा चासो व्यक्त गरेको थियो । स्थानीयवासीबाट स्वास्थ्य चौकीमा कर्मचारी नियमित रूपमा नबस्ने तथा आवश्यक औषधि नपाइने गुनासो आएपछि संस्थाले स्थलगत अनुगमन गरेको जनाएको थियो ।
संस्थाका अध्यक्ष रामजी ज्ञवालीको नेतृत्वमा गरिएको अनुगमनमा नागरिक समाजका अध्यक्ष पूर्व अध्यक्ष शम्भु उपाध्याय, पत्रकार तथा संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । टोलीले स्वास्थ्य चौकीको सेवा प्रवाह, कर्मचारीको उपस्थिती, औषधि व्यवस्थापन, सरसफाइ तथा सेवाग्राहीका लागि उपलब्ध गराइएका सुविधाको निरीक्षण गरेको थियो । अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ज्ञवालीले वर्षायाममा पानीजन्य तथा संक्रामक रोगको जोखिम बढ्ने भएकाले स्वास्थ्य संस्थाहरू अझ बढी सतर्क, जिम्मेवार र सेवामुखी हुनुपर्ने बताए । यस्ता बेला स्वास्थ्य संस्थाले आवश्यक जनशक्ति, औषधि तथा उपचार सेवा प्रभावकारी रूपमा उपलब्ध गराउनु अत्यन्त आवश्यक रहेको उनको भनाइ थियो ।
“वर्षायाममा झाडापखाला, टाइफाइड, डेङ्गु, हैजा लगायतका विभिन्न संक्रामक रोग फैलिने सम्भावना उच्च हुन्छ । यस्तो संवेदनशील समयमा स्वास्थ्य संस्था पूर्ण तयारीका साथ सञ्चालन हुनुपर्छ। त्यसैले जनगुनासोको आधारमा हामीले अनुगमन गरेका हौं,” अध्यक्ष ज्ञवालीले भने,अनुगमनका क्रममा स्वास्थ्य चौकीमा स्वीकृत दरबन्दीअनुसार ६ जना कर्मचारी रहनुपर्ने व्यवस्था भए पनि टोली पुगेको समयमा २ जना कर्मचारी मात्र उपस्थित रहेको पाइएको उनले जानकारी दिए । आवश्यक जनशक्ति उपस्थित नहुँदा सेवाग्राहीले समयमै उपचार सेवा नपाउने अवस्था सिर्जना हुन सक्ने भन्दै उनले नियमित कर्मचारी उपस्थितिको व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।
त्यसैगरी, नेपाल सरकारले आधारभूत स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराउनुपर्ने विभिन्न प्रकारका अत्यावश्यक औषधिहरू पनि पर्याप्त मात्रामा नरहेको अनुगमनका क्रममा भेटिएको अध्यक्ष ज्ञवालीले बताए । औषधिको अभावका कारण बिरामीहरू निजी औषधि पसलबाट औषधि खरिद गर्न बाध्य हुनुपर्ने अवस्था आउन सक्ने भन्दै उनले सम्बन्धित निकायले समयमै पर्याप्त औषधि उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याए । “स्वास्थ्य संस्थामा आवश्यक औषधिको नियमित आपूर्ति हुनु अत्यन्त जरुरी छ। औषधि अभाव हुँदा प्रत्यक्ष असर गरिब तथा विपन्न नागरिकलाई पर्छ। त्यसैले सम्बन्धित निकायलाई आवश्यक औषधि पर्याप्त मात्रामा उपलब्ध गराउन खबरदारी गरेका छौं,” उनले भने,सस्थामा ८८ प्रकारका औषधी निशुल्क उपलब्ध गराउने भनि सुचि टासिएको तर सो अनुसार प्रयाप्त औषधी उपलब्ध नगराइएको अवस्था भेटिएको थियो ।
यसै गरि रामग्राम नगरपालिका–३, घोडपालीमा करिब ५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको पीसीसी सडक गुणस्तरहीन भएको स्थानीयवासीको गुनासो पछि गरिएको स्थलगत अनुगमनमा निर्माण कार्य सम्झौताअनुसार नभएको पाइएको छ । अनुगमनका क्रममा पीसीसी सडकको सतहमा सिमेन्टको मात्रा न्यून देखिएको, केही स्थानमा कङ्क्रिट राम्रोसँग जम्न नपाएको तथा निर्माणको गुणस्तरमा कमजोरी देखिएको संस्थाले जनाएको छ । स्थानीयवासीले निर्माण सम्पन्न भएको छोटो समयमै सडकमा क्षति देखिन थालेको भन्दै कामको गुणस्तरमाथि प्रश्न उठाएका थिए ।
नागरिक निगरानी संस्थाका अध्यक्ष ज्ञवालीले सार्वजनिक बजेटबाट निर्माण हुने पूर्वाधारमा गुणस्तर कायम गर्नु निर्माण व्यवसायी र सम्बन्धित निकायको दायित्व भएको बताए । उनले अनुगमनका क्रममा सडक निर्माणमा कमसल काम भएको प्रारम्भिक रूपमा देखिएको भन्दै प्राविधिक परीक्षण गरी आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको जानकारी दिए । “स्थानीयबाट पटक–पटक गुनासो आए पछि हामी अनुगमनका लागि आएका हौं । स्थलगत अवलोकन गर्दा निर्माणको गुणस्तर सन्तोषजनक देखिएन ।
सार्वजनिक रकमको सदुपयोग हुनुपर्छ भन्ने उद्देश्यले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौं,” ज्ञवालीले भने, उक्त सडक निर्माण अमृत कन्स्ट्रक्सनले कोटेशन प्रक्रिया मार्फत गरेको बताइएको छ । स्थानीयले निर्माण कार्यमा प्रयोग भएका सामग्रीको गुणस्तर, सिमेन्ट–बालुवा–गिट्टीको अनुपात तथा सडकको मोटाइसमेत प्राविधिक रूपमा परीक्षण गर्न माग गरेका छन ्। यता लागत स्टिमेट अनुसार नै कार्य भएको दाबी नगरपालिकाका इन्जिनियर महेश्वर ठाकुरले गरेको समेत जानकारी ज्ञवालीले सुनाएका थिए ।

