
नवलपरासी,४ साउन
जिल्लामा वर्षेनी दर्ता हुने आपराधिक मुद्दाको संख्या निरन्तर बढ्दै गएको तथ्य सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो तीन आर्थिक वर्षको तुलनात्मक तथ्यांकले जिल्लामा अपराधका घटनासँगै मुद्दा दर्ता हुने क्रम पनि वृद्धि हुँदै गएको देखाएको हो ।
जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक(एसपी) रामबहादुर केसीले आर्थिक वर्ष २०८०÷८१ देखि २०८२÷८३ सम्मको कार्यसम्पादन विवरण सार्वजनिक गर्दै अपराध नियन्त्रण, अनुसन्धान तथा सेवा प्रवाहका विषयमा जानकारी गराए । उनले सीमित जनशक्तिका बाबजुद प्रहरीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरिरहेको दाबी समे गरेका थिए । प्रहरी उपरीक्षक केसीले विगत तीन वर्षको तथ्यांक प्रस्तुत गर्दै अपराधका प्रकृति परिवर्तन हुँदै गएको र त्यससँगै अनुसन्धानको दायरा पनि फराकिलो बन्दै गएको बताए । “मुद्दाको संख्या वर्षेनी बढिरहेको छ, उनले भने, तर जनशक्ति सोही अनुपातमा वृद्धि भएको छैन। कम जनशक्तिमा धेरै जिम्मेवारी बहन गर्नुपर्दा अनुसन्धान, शान्ति सुरक्षा तथा सेवा प्रवाहमा थप चुनौती सिर्जना भएको छ ।”
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लामा कुल ४ सय ६८ वटा मुद्दा दर्ता भएका थिए । त्यसको अर्को वर्ष अर्थात् आर्थिक वर्ष २०८१÷०८२ मा मुद्दाको संख्या बढेर ५ सय ६५ पुगेको थियो । पछिल्लो आर्थिक वर्ष २०८२÷८३ मा यो संख्या अझ वृद्धि भएर ६ सय ६२ पुगेको छ । तीन वर्षको अवधिमा मात्रै दर्ता हुने मुद्दाको संख्या करिब ४२ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । मुद्दा दर्तासँगै अनुसन्धान र फछ्र्योटको अवस्था पनि चुनौतीपूर्ण बन्दै गएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा दर्ता भएका मुद्दामध्ये ४ सय ६५ वटा मुद्दा फछ्र्योट भएका थिए । आर्थिक वर्ष २०८१÷०८२ मा ३ सय ६८ वटा मुद्दा फछ्र्योट भएको तथ्यांक छ भने आर्थिक वर्ष २०८२÷०८३ मा ४ सय ५० वटा मुद्दा फछ्र्योट गरिएको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०८०÷८१ मा ३ वटा मुद्दा अनुसन्धानकै क्रममा रहेका थिए । यो संख्या आर्थिक वर्ष २०८१÷८२ मा बढेर १ सय ९८ वटा पुगेको थियो भने आर्थिक वर्ष २०८२÷८३ मा २ सय १२ वटा मुद्दा अनुसन्धानकै क्रममा रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । अनुसन्धानमा रहेका मुद्दा बढ्नुले अपराधको प्रकृति जटिल बन्दै गएको र अनुसन्धानका लागि थप समय, प्रविधि तथा जनशक्तिको आवश्यकता रहेको प्रहरीको भनाइ छ । मुद्दासँगै पक्राउ पर्ने प्रतिवादीको संख्या पनि प्रत्येक वर्ष बढेको देखिएको छ । प्रहरीको विवरणअनुसार आर्थिक वर्ष २०८०÷८१ मा २ सय ५८ जना प्रतिवादी पक्राउ परेका थिए। आर्थिक वर्ष २०८१÷०८२ मा यो संख्या बढेर ३ सय ७९ जना पुगेको थियो भने आर्थिक वर्ष २०८२÷०८३ मा ४ सय ५२ जना प्रतिवादी पक्राउ परेका छन् । यसले प्रहरीले अपराध अनुसन्धान तथा फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तर प्रभावकारी बनाएको संकेत गरेको प्रहरीको दाबी छ । प्रहरी उपरीक्षक केसीले अपराध नियन्त्रणका लागि समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राखिएको बताए । उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रम, विद्यालय केन्द्रित सचेतना, लागूऔषध दुव्र्यसनविरुद्ध अभियान, महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका कार्यक्रम, साइबर अपराध सम्बन्धी जनचेतना तथा ट्राफिक सचेतनामूलक गतिविधिलाई निरन्तर सञ्चालन गरिएको जानकारी दिए ।
उनका अनुसार अपराध नियन्त्रणमा प्रहरीको एकल प्रयास मात्र पर्याप्त नहुने भएकाले स्थानीय तह, नागरिक समाज, सञ्चारमाध्यम, अभिभावक तथा समुदायको सक्रिय सहभागिता आवश्यक छ। समाजका सबै पक्षले आ–आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गरे मात्र अपराध न्यूनीकरण सम्भव हुने उनले बताए । प्रहरीले शान्ति सुरक्षा कायम गर्नुका साथै नागरिकलाई विभिन्न प्रकारका सेवा पनि उपलब्ध गराउँदै आएको जनाएको छ । आर्थिक वर्ष २०८२÷०८३ मा मात्रै कुल ७ हजार ८ सय ६१ जना सेवाग्राहीले जिल्ला प्रहरी कार्यालयबाट विभिन्न सेवा प्राप्त गरेका छन् । यस अवधिमा २ हजार २ सय ४२ जना महिला, ५ हजार ३५ जना पुरुष तथा ५ सय ८४ जना बालबालिकाले प्रहरीबाट सेवा लिएको तथ्यांक सार्वजनिक गरिएको छ । ती सेवामा उजुरी दर्ता, निवेदन, अनुसन्धान, हराएका व्यक्तिको खोजी, घरेलु हिंसा सम्बन्धी परामर्श, महिला तथा बालबालिका संरक्षण, नागरिक सहायता, सुरक्षा परामर्श तथा अन्य प्रहरी सेवाहरू समावेश रहेको प्रहरीले जनाएको छ ।
पत्रकारहरूसँगको अन्तरक्रियामा सञ्चारकर्मीहरूले जिल्लामा बढ्दो लागूऔषध कारोबार, साइबर अपराध, सडक दुर्घटना, घरेलु हिंसा तथा सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका विषयमा प्रश्न उठाएका थिए । त्यसको जवाफमा प्रहरी उपरीक्षक केसीले ती सबै विषय प्रहरीको प्राथमिकतामा रहेको उल्लेख गर्दै आवश्यक रणनीति बनाएर प्रभावकारी रूपमा काम भइरहेको बताए । जिल्लामा अपराधका घटना तथा मुद्दाको संख्या बढ्दै जाँदा प्रहरीमाथिको कार्यबोझ पनि उल्लेख्य रूपमा बढेको छ । सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद प्रहरीले अनुसन्धान, अपराध नियन्त्रण तथा नागरिक सेवा प्रवाहलाई निरन्तरता दिएको जनाएको छ । आगामी दिनमा जनशक्ति, प्रविधि र स्रोतसाधनको थप व्यवस्थापन गर्न सकिए अपराध अनुसन्धानलाई अझ प्रभावकारी बनाउन र सेवा प्रवाहलाई थप सहज बनाउन सहयोग पुग्ने प्रहरीको अपेक्षा रहेको छ ।
