
नवलपरासी असार १९ — एम्नेस्टी इन्टरनेसनल नेपाल समूह ३१ परासी (नवलपरासी) को २९औँ साधारण सभा तथा २४औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिमा संयोजकमा राजु देवान, उप–संयोजकमा रञ्जित शर्मा, सचिवमा सुकरात गौड, सह–सचिवमा पुरुषोत्तम तिवारी तथा कोषाध्यक्षमा निरुता चौधरी चयन भएका छन्। सदस्यहरूमा निर्मला देवी जैसवाल, मुकेश नारायण लोनिया, विनोद निगम तथा अनिल प्रजापति रहेका छन्।
अधिवेशनमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्दै नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए। कार्यक्रममा नागरिक समाजका अध्यक्ष बेचु गौड, जिल्ला समन्वय समिति प्रमुख भगौती यादव, रामग्राम नगरपालिका की पूर्व उपमेयर रम्भा कुँवर तथा एम्नेस्टी समूह ३१ का पूर्व संयोजक बिजय जैसवालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
वक्ताहरूले मानव अधिकार संरक्षण, सामाजिक न्याय तथा समानताको पक्षमा एम्नेस्टीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नयाँ कार्यसमितिले संस्थालाई थप सशक्त र प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरेका थिए।
उनीहरूले समाजमा विद्यमान अन्याय, विभेद, हिंसा तथा असमानताविरुद्ध सामूहिक रूपमा आवाज उठाउनुपर्ने आवश्यकता औंल्याउँदै स्थानीय तहमा मानव अधिकारसम्बन्धी जनचेतना अभिवृद्धिमा संस्थाको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा राखेका थिए।
नवगठित कार्यसमितिले मानव अधिकार, न्याय, समानता तथा मानव मर्यादाको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाएको छ। साथै आगामी दिनमा संस्थालाई थप सक्रिय, जनमुखी र परिणाममुखी बनाउँदै समुदायस्तरमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ।
एम्नेस्टी इन्टरनेसनल विश्वभर मानव अधिकारको संरक्षण, न्यायको प्रवर्द्धन तथा अन्यायविरुद्ध आवाज उठाउने अग्रणी संस्थाका रूपमा परिचित छ। नेपालमा पनि यस संस्थाले विभिन्न समूहमार्फत जनचेतना, वकालत तथा अभियान सञ्चालन गर्दै आएको छ।
परासी समूहले विगतदेखि नै मानव अधिकार संरक्षण, सामाजिक न्याय तथा नागरिक सचेतनाका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। नवगठित कार्यसमितिले संस्थाका उद्देश्य र मूल्य मान्यतालाई आत्मसात गर्दै आगामी कार्यकालमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरिएको छ।
अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। सहभागीहरूले सामूहिक प्रयास, सहकार्य र समर्पणबाट आगामी कार्यकाललाई सफल र उपलब्धिमूलक बनाउने विश्वास व्यक्त गरेका छन्।

