
नवलपरासी,१० जेठ
स्थानिय स्तरबाट जिल्ला स्थित झरही पिडुरा दोभान कुण्डको गोही संरक्षणमा स्थानियसँगै विभिन्न सरोकारवालाले चाँसो देखाउन थालेसँगै गोही आरक्ष क्षेत्रमा अवलोकनकर्ता पुग्न थालेका छन् । बर्षाै देखी सो क्षेत्रमा गोहीहरु बस्दै आएको र बेला बेला निस्कने गर्दा देखेका स्थानियले गोहीको संरक्षणका लागि आरक्ष क्षेत्र बनाउन पहल शुरु भए पछि गोहीको अवलोकनकर्ताहरु बढन थालेको स्थानियले बताएका हुन् ।
प्रस्तावित गोही आरक्ष क्षेत्रमा आन्तरिक तथा भारतिय पर्यटकहरु समेत अवलोकन गर्न आउन थालेकोले सो क्षेत्रमा जोखिम समेत देखिन थालेको छ । अहिले स्थानियले गोहीको संरक्षण गर्नु पर्ने माग गर्न थाले पछि डिभिजन बन कार्यालय नवलपरासी र सरोकारवाला बातावरण बचाउ अभियानले पनि चाँसो देखाएर काम गर्न थालेको छ । गोही आरक्ष क्षेत्र बनाउनका लागि लुम्बिनी प्रदेश सरकारलाई लेखी पठाउनका लागि जिल्ला बन समन्वय समितिले समेत निर्णय गरेको समितिका सदस्य सचिव समेत रहेका डिभिजन बन कार्यालयका प्रमुख राजु क्षेत्रीले बताए ।


उनका अनुसार यो बर्ष गोही संरक्षणका लाग कुनै खासै कार्यक्रम राख्न नसकिए पनि अगामी बर्षमा संरक्षणका कार्यक्रम राखिने बताएका थिए । एउटा समान्य खोलामा गोहीहरु भेटिनु राम्रो कुरा भएको बताउदै संरक्षणमा सबैले सहकार्य गरि लाग्नु पर्ने समन्वय समितिका प्रमुख भगौती यादवले बताएका थिए । यता झरहीमा विभिन्न उद्योग कलकारखानाबाट बगाउदै आएको प्रदुषित जल नियन्त्रण नगरिए संरक्षित गोहीलाई असर पार्न सक्ने जनाउदै गोहीको संरक्षणसँगै प्रदुषण समेत नियन्त्रण गर्नु पर्ने आवश्यकता वातावरण बचाउ अभियानका अध्यक्ष रामभवन यादवले औल्याएको थिए ।
गोही आरक्ष क्षेत्रलाई ब्यवस्थित गरियो भन्ने सो क्षेत्र एउटा राम्रो पर्यापर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने गोही क्षेत्रको अवलोकन गर्न पुगेका उद्योग बाणिज्य संघका लेखा संयोजक समेत रहेका रामग्राम ४ का अर्जुन क्षेत्रीले बताएका थिए । गोही संरक्षणमा साईन रेसुगाँ बैकको परासी शाखाले समेत चाँसो लिई सिएसआर मार्फत सहयोग गर्न सकिने अभियानका कोषाध्यक्ष रामकरन हरिजनले बताएका थिए । उनका अनुसार सम्भवतः ति कार्य बैंकले छ्ट्टिै गर्ने छ ।
गोही पनि एक प्रकृति जलचर हो,उनले भने,पृथ्वीमा यस्को अस्तित्व पनि बचाई राख्नु पर्ने हो,तर बाहिरी प्रदुषणले उनीहरुको अस्तित्व नै खत्तरा बन्ने देखिएको छ । अभियानले गोहीको संरक्षणसँगै सो क्षेत्रमा बग्ने झरही र पिडुरा खोलामा स्वच्छ जल बग्ने वातावरण बनाउन आवश्यक छ, त्ससका लागि खोलामा जथाभावि हुने गरेको प्रदुषित पानी लगायतका बस्तु रोक्नु पर्छ । तिन पालिकालाईको मिलनविन्दु(संगम स्थल) समेत रहेको पिडुरा झरही दोभान कुण्डमा रहेका गोहीलाई संरक्षण गर्न त्यसलाई गोही आरक्ष क्षेत्र घोषणाको तयारीमा स्थानिय छन् ।
रामग्राम १७ पिपरहिया,पाल्हीनन्दन ३ कुश्मा र सरावल ४ पुर्नहा र ललितपुर गाँउको विचमा रहेको करिब ५६ हेक्टर क्षेत्रफलमा फैलिएको दोभान जलासय र कुण्ड क्षेत्रलाई गोही आरक्ष क्षेत्रको रुपमा विकास र संरक्षण गर्न स्थानिय जुटेका हुन् । करिब १० किलोमिटर परिधि रहेको उतm क्षेत्रलाई आरक्ष क्षेत्र घोषणासँगै तारबारले सुरक्षित गर्न सरकार लाग्नु पर्छ । गोही आरक्ष भए पनि वरिपरि रहेका बन क्षेत्रमा निलगाई,सर्प,२८ प्रकारका विभिन्न प्रजातीका माछाहरु भेटिएका छन् । त्यसैमा आधारित भएर सारस लगायत सय भन्दा बढि प्रकारका चराहरु सो क्षेत्रमा रहेको दाबी स्थानियको रहेको छ ।
ति कुण्डमा दर्जनौ साना ठूला गोही रहेकोले सो क्षेत्रलाई गोही आरक्ष क्षेत्र घोषणा गराउन पहल भई रहेको रामग्राम १७ का वार्ड अध्यक्ष कन्यैया मौर्यले बताएका थिए । बर्षायामा झरही र पिडुरा खोलामा घुम्ने र रमाउने गोहीहरु हिउँद र गर्मिमा पिडुराको कुण्डमा बास बनाई बस्दै आएको जनाए । अब्यवस्थित रुपमा रहेका गोहीलाई ब्यवस्थित गर्न आवश्यक देखिएको छ । गोहीहरुकै डरले कम्तीमा ति क्षेत्रमा बन तथा खोलानाला अतिक्रमणले पनि जोगिएको छ । जुन जलश्रोतको रुपमा स्थानियले प्रयोग गर्दै आएका छन् । झरही खहरे खोला भए पनि पिडुरा खोलामा जमिनमुनिबाट नै पानी निस्कने मुल जस्तै छ,उनले थपे,त्यही भएर जतिसुकै सुख्खा भए पनि पिडुरा खोलाका पानी सुक्दैन् । त्यसैले ति जलासय र कुण्ड गोहीहरुको लागि सुरक्षति बास स्थान बनेको छ ।
गोहीका लागि सुरक्षित बास बनेको भए पनि सो क्षेत्रमा कहिले काही बाख्राहरु चर्न गएको बेला गोहीले आक्रमण गरि आहारा बनाउने गरेको वार्ड अध्यक्ष मौर्यले सुनाए । स्थानियले बाख्रा हराएको कुरा उठ्दा गोहीले लगेको अनुमान गर्छन्,त्यो बेला पानी सुकाएर गोहीलाई नै नष्ट गरिदिने आक्रोस पनि पोख्ने गरेका छन् । तर अहिलेसम्म गाँउलेहरुलाई सम्झाई बुझाई राखिएको छ । रामग्राम नगरपालिका,सरावल र पाल्हीनन्दन गाउपालिकाको जोडेको उतm स्थानमा अन्य पर्यटकिय पुर्वाधार पनि रहेको हुदा गोही आरक्ष क्षेत्र घोषणाले थप पर्यटनको क्षेत्रलाई बढावा दिईनेमा उनले विश्वास ब्यतm गरेका थिए । पाल्हीनन्दन ३ कुश्मा स्थित कुटी पार्क समेत रहेको छ ।
त्यसै गरि सोही जलासयसँग जोडिएको अनरीमाई मन्दिर,उत्तरबहनी(उत्तरायण) झरही नदी पनि भएकोले साँस्कृतिक पर्यटन पनि रहेका छन् । कुटीपार्कमा पनि विभिन्न मठमन्दिर रहेका छन् । स्थानियले शव अन्त्येष्टि गर्ने स्थान(मासन घाट) पनि सोही क्षेत्रमा रहेको छ । उतm क्षेत्र पुर्वपश्चिम महेन्द्र राजमार्गको बासा देखि महेशपुर जोड्ने बासा पिपरहिया महेशपुर सडक सोही क्षेत्र भएर गएको छ । त्यसै गरि पुर्वपश्चिम राजमार्गकै भुतहा देखी महेशपुर नाका जोड्ने भुतहा महेशपुर सडकले पनि उतm क्षेत्रलाई जोडेको छ । ३२ किलो मिटर लामो नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीका सेवा सडकले जोडिएको हुदा पर्यटकलाई आँउ जाँउमा पनि समस्या नहुने उनको भनाई थियो ।

