
नवलपरासी, २१ वैशाख,
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीले पालिका स्तरीय शाखाको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाएको छ । नेपाल रेडक्रस सोसाइटीको नयाँ विधान बमोजिम पहिलो पटक पालिका स्तरीय शाखाहरुको नेतृत्व निर्वाचन मार्फत गर्न लागिएको हो ।
जिल्लाका सातवटै पालिका शाखाको निर्वाचनका लागि यही वैशाख २६ गते एकै दिन मतदान गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरिएको छ । जस अनुसार आज वैशाख २१ गते सोमबार सातै पालिकाको अधिवेशनमा सहभागि हुने मतदाताहरुको नामावली प्रकाशन गरिएको मूख्य निर्वाचन अधिकारी एवं नेपाल बार एसोसिएनका अध्यक्ष अधिवक्ता रामकृष्ण पौडेलले जानकारी गराएका थिए । उनका अनुसार पालिका शाखामा उम्मेदवार हुन यही वैशाख २४ गते उम्मेदवारी मनोनयन गर्नु पर्ने छ । सर्वसम्मत नभए वैशाख २६ मा मतदान हुनेछ ।
रेडक्रसको नयाँ विधान अनुसार पालिका शाखा १५ सदस्यीय हुनेछ । ति मध्ये ११ जना निर्वाचनबाट चयन हुनेछन् भने एक जना निवर्तमान अध्यक्ष पदेन, एक जना पालिका प्रतिनिधि र दुई जना युवा समितिबाट मनोनीत हुने छन् । पालिका शाखा समितिमा अध्यक्ष एक जना, उपाध्यक्ष एक जना(महिला), सचिव एक जना,कोषाध्यक्ष एक जना, महिला सदस्य ३ जना र खुल्ला सदस्य ४ जना गरी ११ जना निर्वाचनबाट चयन हुने अधिवक्ता पौडेलले जानकारी गराए ।
रेडक्रसले पालिका अधिवेशन सम्पन्न गर्न बार एसोसिएसनमार्फत सातै पालिकामा निर्वाचन अधिकृतहरु खटाएको छ । मतदानका लागि सातै पालिकाका विभिन्न स्थानमा मतदान केन्द्र तोकिएको छ । मूख्य निर्वाचन अधिकारी पौडेलका अनुसार निर्वाचनका लागि रामग्राम नगरपालिका शाखाको लागि परासी क्याम्पस, सुनवल नगरपालिका शाखाको लागि रेडक्रस सुनवल उपशखाको कार्यालय रमवापुर, बर्दघाट नगरपालिका शाखाको लागि रेडक्रस बर्दघाट उपशखाको कार्यालयलाई मतदान केन्द्र तोकिएको छ ।
सरावल गाउँपालिका शाखाको लागि रेडक्रस बालपुरी उपशाखाको कार्यालय,पाल्हीनन्दन गाउँपालिका शाखाका लागि सिद्धार्थ मावि कुश्मा,प्रतापपुर गाउँपालिका शाखाका लागि त्रिभुवन मावि बेलाटारी र सुस्ता गाउँपालिका शाखाका लागि दिपेन्द्र मावि रतनगञ्जलाई मतदान केन्द्र तोकिएको छ । निर्वाचनका सबै कार्यक्रम सोही केन्द्रहरुमा सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ ।
अधिवेशन सम्पन्न गर्न बार एसोसिएसनले रामग्रामममा अधिवक्ता श्यामसुन्दर चौधरी, सुनवलमा अधिवक्ता चुराबहादुर थापा, बर्दघाटमा अधिवक्ता मित्रलाल लामिछाने, सरावलमा अधिवक्ता लक्ष्मण यादव, पाल्हीनन्दनमा अधिवक्ता मनोज कुमार नागवंशी, प्रतापपुरमा अधिवक्ता श्रद्धासुमन आचार्य र सुस्तामा अधिवक्ता रामजीप्रसाद उपाध्यायलाई मतदान अधिकृतको रुपमा खटाएको छ ।
