
नवलपरासी,१३ मंसिर
ग्रामिण क्षेत्रका गर्भवति महिलालाई लक्षित गरि स्वास्थ्य चौकीमै भिडियो एक्सरे(अल्ट्रासाउण्ड) सेवा लिनेको संख्या उल्लेख्य वृद्धि भएको छ । गाउका गर्भवति महिलालाई अन्य सबै स्वास्थ्य जाँच निशुल्क गर्दै भिडियो एक्सरे समेतको सेवा निशुल्क भए पछि गर्भवती महिलाले सो सेवा लिन स्वास्थ्य चौकी आउन थालेका हुन् ।
गाउपालिका भित्रका सबै गर्भवती महिलालाई गाउपालिकाले निशुल्क सेवा उपलब्ध गराउने अनुरुप मासिक स्वास्थ्य जाँच गर्दै आएको भए पनि भिडियो एक्सरेका लागि भारत विहारको भैसालोटन बजार जानु पर्ने वा सदरमुकाम परासी तथा वर्दघाट जानु पर्ने बाध्यता थिए । तर गत भदौ महिनामा गाउपालिकाले पालिका परिसर भित्रै रहेको कुडिया स्वास्थ्य चौकीमा भिडियो एक्सरे मेसिन उपलब्ध गराए पछि गाउपालिकाका गर्भवति महिलालाई राहत भएको स्वास्थ्य चौकी प्रमुख विकास यादवले जानकारी गराए ।
यादवले भिडियो एक्सरे सेवा लिनेको मासिक प्रगति पनि गाउपालिकालाई उपलब्ध गराउदै आएको बताए । उनका अनुसार अहिलेसम्म भदौ महिनामा ३८ जना,असोज महिनामा ५२ जना र कातिक महिनामा ४० जना गरि कुल १ सय ३० जना महिलाले भिडियो एक्सरे सेवा लिएका छन् । गर्भमा रहेको बच्चाको अवस्था समेत यसबारे थाहा हुने गरेको छ,उनले भने, यसले प्रसुतीको बेलासम्म महिला तथा गर्भको शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी हुन्छ । सोही अनुसार गर्भवती तथा सुत्केरी महिलालाई आवश्यक स्वास्थ्य सेवा तथा परामर्श समेत गरिदै आइएको छ ।
गाउपालिकामा अस्पताल नभएको बेलासम्म गर्भवती महिलालाई उच्चतम स्तरको सेवा दिनका लागि गाउपालिकाले स्वास्थ्य चौकीलाई भए पनि भिडियो एक्सरे मेसिन उपलब्ध गराएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । अहिले एउटा भिडियो एक्सरे मेसिनले गाँउमै गर्भवति महिलाहरु निशुल्क सेवा पाउन थालेका छन् । टाढाटाढा जान परेको छैन् । गर्भावस्था महिलाका लागि जटिल अवस्था पनि हो,उनले थपे,सुस्ता जिल्लाको सदरमुकाम देखी झण्डै ४० किलोमिटर टाढा पनि छ । गरिब विपन्न पनि छन् । उनीहरुले अहिले आफ्नै गाउमा भिडियो एक्सरे सेवाले उत्साही बनाएको छ ।
बजारमा भिडियो एक्सरे सेवा लिनका लागि १ हजार देखी १ हजार ५ सयसम्म सेवा शुल्क तिर्नु पर्छ । जबकी समान्य भिडियो एक्सरे मेसिन (श्याम स्वेत) डेढ लाखमा प्राप्त हुन्छ । बढिमा ११ लाखसम्मको मेसिन हुन्छ । स्थानिय तहमा यदि भिडियो एक्सरे गर्ने शिप मात्रै स्वास्थ्यकर्मीलाई दिलाउन सके गाउका महिलालाई गाउमै भिडियो एक्सरे सेवा प्रदान गर्न सकिदो रहेछ । यसको उदाहरण सुस्ता गाउपालिकाले देखाएको छ । अन्य पालिकाका लागि पनि यस्तो सेवा अनुकरणिय हुन सक्ने अधिकृत पौडेलले बताए । उनका अनुसार संविधानले नै स्थानिय तहलाई आधारभुत स्वास्थ्य सेवा र माध्यमिक तहको शिक्षालाई जिम्मेवारी दिएको छ । स्थानिय तहले काम गर्ने पनि शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने आवश्यकता छ । अन्य पुर्वाधारमा प्रदेश र संघ सरकारले पनि गर्ने गरि साझा सुचिमा परेका काम भन्दा एकल सुचिको कामलाई प्राथमिकताका साथ स्थानिय तहले काम गर्नु पर्ने उनको भनाई थियो ।
